Sunday, April 19

मतदान केन्द्रमा जाने सडकमा हिउँ, ५ दिनदेखि मेसिन लगाएर पन्छाइँदै

नेपालअखबार,बागलुङ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै देशका अधिकांश जिल्लामा मतपत्रसहितका सामग्री पुगिसके । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रहरूमा जनशक्ति पठाउनका लागि खटनपटन गरिरहेका छन् । तर मुस्ताङको एउटा मतदान केन्द्र रहेको साङ्तामा चुनावको कुनै गुन्जायजनै छैन । जाडो छल्न सहर पसेका स्थानीय गाउँ फर्किसकेका छैनन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता गाउँमा मतदान अनुगमन टोलीसमेत पुग्न सकेको छैन । साङ्ता गाउँ जाने सडकका झन्डै सात फिट हिउँ जमेको हुँदा यात्रा गर्न सकिने अवस्था छैन । सडक खुलाउनका लागि पाँच दिनदेखि मेसिन प्रयोग गरिएको छ । आइतबारसम्म सडक खुलाउने गरी मेसिनले काम गरी रहेको मुस्ताङको प्रमुख जिल्ला अधिकारी अन्जिता शर्माले जानकारी दिइन् ।

Advertisement

उनले भनिन्, ‘साङ्ता गाउँमा एउटा मतदान केन्द्र र मतदान स्थल रहेको छ । यहाँ अहिलेसम्म पुग्न सकिएको छैन । गाउँमा हिउँ नभए पनि त्यहाँ पुग्ने सडक पुरै बाक्लो हिउँले ढाकिएको हुँदा पाँच दिनदेखि खुलाउने काम भइरहेको छ । सडक खुल्दा साथ अनुगमनमा पुग्छौँ ।’

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–५ को ताङ्ग्या र ध्येय गाउँका तीन वटा मतदान केन्द्रमा भने अनुगमन भइसकेको उनको भनाइ छ । यी दुई गाउँमा पुग्ने सडकको हिउँ पन्छाएर अनुगमन टोली त्यहाँ पुगेको प्रजिअ शर्मा बताउँछिन् ।

‘मुस्ताङको धेरै जसो मतदान केन्द्र र मतदानस्थलमा पुगेर अनुगमन गरी सक्यौँ, ताङ्ग्या र ध्येय गाउँमा पनि केही दिन अगाडि मात्रै पुगेर अनुगमन ग¥यौँ’, उनले भनिन्, ‘अब हिमपात भएन भने आज भोलीमा साङ्ता गाउँ जाने सडक पनि खुल्छ ।’

अझै चार किलोमिटर सडकको हिउँ पन्छाउन बाँकी रहेको उनले जानकारी दिइन् । चुनाव नजिकिएसँगै सहर झरेका मतदातासमेत गाउँ फर्किन थालेको उनको भनाइ छ । १३ घरधुरी रहेको साङ्ता गाउँमा कुल जनसंख्या ७० रहेकोमा ३९ जना मतदाता रहेका छन् । मुस्ताङमा अस्थायीसहित ४० मतदान स्थल रहेका छन्

  • साङ्ता गाउँमा चार जना मात्रै !

साङ्तामा ३९ जना मतदाता रहेकोमा हाल चार जना मात्रै गाउँमा रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए । अन्य मतदाता सहरमा रहेको र गाउँ फर्किने क्रममा रहेको उनको भनाइ छ । मतदातालाई निर्वाचनमा सहभागी गराउनका लागि यहाँका दलहरु लागि रहेको ज्ञवालीले बताए ।

उनले भने, ‘साङ्ता गाउँ अहिले सुनसान छ । चार जना गोठाला मात्रै अहिले गाउँमा हुनुहुन्छ । अरु फर्कने क्रममा हुनुहुन्छ । चिसो छर्न मंसिरमा सहर झर्ने र फागुन अन्तिम सातादेखि गाउँ उक्लिने यहाँको चलन रहेछ ।’

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालका अनुसार निर्वाचनका लागि तयारी पूरा भएको छ । आइतबारदेखि चालिस वटै मतदान केन्द्रमा मतपत्रसहित कर्मचारी पठाउने उनको भनाइ छ । यस पटक २१६ जना कर्मचारी निर्वाचनका लागि खटाइने उनी बताउँछन् ।

‘जिल्ला भर अस्थायीसहित ४० वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा पढाउने मतपत्रसहितका सामग्री प्याकेजिङ गरेर तयारी अवस्थामा छन्’, उनले भने, ‘टाढा रहेका मतदान केन्द्रमा भोली र नजिकको केन्द्रमा पुर्सीसम्म कर्मचारी पठाई सक्छौँ ।’

प्रमुख ढकालले मौसम फेुरबदल भएन भने सहज रुपमा चुनाव गर्न सकिने बताए । अहिले मौसम सामान्य रहेको भन्दै हिमपात भए समस्या हुने उनको भनाइ छ । निर्वाचनमा धेरै मतदातालाई सहभागी गराउनका लागि दलका उम्मेदवारहरुसँग छलफल गरिरहेको उनी बताउँछन् ।

  • कोराला नाका तीन दिन बन्द हुने

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि कोराला नाका तीन दिन बन्द हुने भएको छ । फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि नाका बन्द गरिने भएको हो ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न चीनसँग जोडिएको सीमा नाका बन्द गर्ने निर्णय गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । करिब ७२ घण्टा नाका पूर्ण रुपमा बन्द हुने उनको भनाइ छ ।

निर्वाचन लक्षित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकिकृत सुरक्षा युनिटले सीमा क्षेत्रमा निरन्तर गस्ती गरिरहेको उनको भनाइ छ । माथिल्लो मुस्ताङ क्षेत्रमा निर्वाचिन सुरक्षाका लागि सुरक्षाकर्मी पठाइसकेको प्रजिअ शर्मा बताउँछिन् ।

निर्वाचनलाई लक्षित गरी शुक्रबार रातिदेखि मुस्ताङ जिल्लाभर मादक पदार्थको बिक्री वितरण, ओसार/पोसार तथा सेवनमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ ।