Friday, August 21

सीमामा मधेसी जनतामाथि चरम दमन भयो, हामी विद्रोहको नजिक छौँ- महन्थ ठाकुर

नेपालअखबार,काठमाडौं ।  राष्ट्रिय सभा सदस्य एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा सर्वसाधारणमाथि दुर्व्यवहार भएको बताएका छन्।

Advertisement

सरकारले एक सय रूपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम लागू भएपछि सीमानामा नागरिकहरूमाथि दुर्व्यवहार भएको उनले बताएका हुन्।

Advertisement
Advertisement

बुधबार राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै ठाकुरले सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनीसमेत दिएका छन्।

Advertisement

‘मन्त्रीज्युहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन। हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौं,’ उनले भने।

एक सय रूपैयाँको सामान ल्याउँदा पनि भन्सार भनेर घन्टौं कुराउने, अनुहार हेरेर व्यवहार गर्ने र मानिसहरूलाई अपमानित गर्ने काम भइरहेको उनले बताए।

‘खाद्यान्न र नुन–तेलका लागि भारतीय बजारको बाध्यता छ। अहिले गरिब जनता आधा किलो चामल, पीठो, नुन र कुकिङ्ग तेलका लागि सीमा पारि जान बाध्य छन्। त्यही एक–दुई किलो सामान ल्याउँदा पनि सीमामा लुटिने र खोसिने डर छ,’ उनले भने।

नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उनले आपत्ति जनाएका छन्।

विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती–बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको पनि उनले बताए।

वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै उनले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै बताए।

अध्यक्ष ठाकुरले मधेसका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भएपनि सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गरे। –न्युज एजेन्सी नेपाल