Monday, May 4

संसदीय समितिका उजुरी व्यवस्थापनका लागि एकद्वार प्रणाली

नेपालअखबार,काठमाडौं । संसदीय समितिहरूको उजुरी व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउन संघीय संसद सचिवालयले एकद्वार प्रणाली लागू गरेको छ ।

सार्वजनिक चासोका विषयमा संसदीय समितिहरूसँग सम्बन्धित सबै गुनासो, सुझाव वा उजुरी एउटै स्थानबाट दर्ता गर्नेगरी ‘जनसम्पर्क–दर्ता चलानी एकाई’ स्थापना गरिएको संघीय संसदका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

Advertisement

यसअघि सेवाग्राहीले सम्बन्धित समिति सचिवालयमै पुगेर मात्र गुनासो तथा उजुरी दर्ता गर्नुपर्ने अवस्था थियो । नागरिकलाई समिति कार्यालयको स्थानसम्बन्धी जानकारी नहुँदा अलमल हुने तथा समितिहरूलाई समेत उजुरी संकलन तथा व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले उक्त एकाई स्थापना गरिएको गिरीको भनाइ छ ।

उनले एउटै विषयमा धेरै ठाउँमा उजुरी दर्ता हुँदा प्रक्रियामा जटिलता र दोहोरोपनाको समस्या देखिएको कारण एकद्धार प्रणालीमार्फत उजुरी व्यवस्थापनको कार्य अघि बढाइएको जानकारी गराए ।

‘समितिहरूले यसअघि नै सार्वजनिक विषयसँग सम्बन्धीत विषयहरूमा उजुरी लिने गर्थे । सभाका नियमावलीमा समेत उजुरी लिनसक्ने व्यवस्था छ । यसअघि सम्बन्धीत समितिका सचिवालयहरूले उजुरी तथा गुनासो दर्ताको कामहरू गरिरहेका थिए । एउटै उजुरी पनि धेरै ठाउँमा दर्ता भइरहेका छन्,’ उनले भने ।

सेवाग्राहीको कामलाई समेत मध्यनजर गर्दै एक जना प्रतिनिधि राखी ‘जनसम्पर्क–दर्ता चलानी एकाई’मार्फत एकद्धार प्रणालीमार्फत काम अघि बढाउने व्यवस्था गरिएको उनले बताए ।