Monday, June 8

युद्धविरामयता पहिलो पटक इरान र इसराइलबीच हानाहान

नेपालअखबार,काठमाडौं । इजरायलले इरानमा फेरि आक्रमण गरेको छ । इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलको भनाइ छ ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही समयअघि इजरायली वायुसेनाले पश्चिमी र मध्य इरानमा इरानी आतंकवादी शासनका सैन्य अड्डाहरूमा आक्रमण गरेको छ ।’

Advertisement

आक्रमणको स्थान वा क्षतिको विस्तृत विवरण भने दिइएको छैन । तर इरानको सरकारी टेलिभिजन च्यानलले राजधानी तेहरानसहित तीन शहरमा विस्फोट भएको जानकारी दिएको छ ।

सरकारी टेलिभिजनका अनुसार तेहरान, तबरीज र इस्फहानमा धेरै विस्फोटका आवाज सुनिएका छन् । रिपोर्टअनुसार कराज सहर नजिक पनि विस्फोटहरू सुनिएका छन् ।

इरानको स्थानीय मिडिया रिपोर्टअनुसार, मिसाइल आक्रमणपछि तेहरानको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै उडानहरू ‘अर्को आदेश नभएसम्म’ रोकिएका छन् ।

आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको थियो । त्यसको बदलामा इजरायलले पनि इरानमाथि आक्रमण गरेको हो ।

यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै ‘निरन्तर आक्रमणहरूको सुरुवात’ भएको जनाएको थियो ।

आईआरजीसीले चेतावनी शैलीमा भनेको छ, ‘यदि इजरायलले आक्रामक गतिविधि दोहोर्‍यायो भने त्यसको जवाफ झन् ठूलो स्तरमा दिइनेछ, जसमा यस क्षेत्रमा रहेका अमेरिका र इजरायलका सबै अड्डाहरू पनि समावेश हुन सक्छन् ।’

इरानले के भन्यो ?

इरानले अमेरिका र इजरायल सरकारले युद्धविराम सम्झौताअनुसार आफ्नो प्रतिबद्धता पूरा नगरेको आरोप लगाएको छ, जुन अप्रिलको सुरुवातमा लागू भएको थियो ।

अमेरिका, इरान र इजरायलबीच अप्रिलमा भएको युद्धविरामका बारम्बार उल्लङ्घन भएपछि इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रको उत्तरतर्फ रहेका केही सैन्य अड्डाहरूमा आक्रमण गरेको इरानको विदेश मन्त्रालयले जनाएको छ ।

१७ अप्रिलदेखि युद्धविराम लागू भए पनि व्यवहारमा यो प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन । इजरायल र इरान दुवैले पटक–पटक यसको उल्लङ्घन गरेका छन् ।

अमेरिकाले पनि इरानमाथि आक्रमण जारी राखेको छ ।

अमेरिकाले गत हप्ता इरानी सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले अमेरिकी बेसलाई निशाना बनाएको थियो ।

इरानको विदेश मन्त्रालयले थप चेतावनी दिँदै देशले आफ्नो सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्ने स्पष्ट गरेको छ । साथै, यदि इजरायलले लेबनान वा इरानमाथि पुन: आक्रमण गर्‍यो भने ‘कडा र ठूलो जवाफ’ दिइने बताएको छ ।

इजरायलको आक्रमणपछि बेरुतमा सरकारको पक्षमा समर्थन

यसैबीच, बेरुतको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि तेहरानमा सरकार समर्थनमा प्रदर्शनहरू भएका छन् ।

तस्बिरहरूमा देखिएका प्रदर्शनकारीहरूले इरान र हिज्बुल्लाहका झण्डा बोकेका थिए ।

हिज्बुल्लाह लेबनानको राजनीतिक तथा सैन्य संगठन हो, जसलाई इरानले समर्थन गरेको बताइन्छ ।