
नेपालअखबार, काठमाडौं । नेकपा एमाले लुम्बिनीका ८३ प्रतिशत बढी नेताहरू अध्यक्षबाट केपी शर्मा ओली हट्नुपर्ने पक्षमा उभिएका छन्।
एमालेको पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलको लुम्बिनी प्रदेशको कपिलवस्तुमा बिहीबार भएको सुझाव संकलनका क्रममा अधिकांश नेताहरू अध्यक्षबाट ओली हट्नुपर्ने पक्षमा उभिएका हुन्।
सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा सुझाव संकलन गरिएको थियो।
सुझाव संकलन कार्यक्रममा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ज्ञवाली र लुम्बिनीका नेताहरू उपस्थित रहेका थिए।
सुझाव संकलनका लागि लुम्बिनीका १०९ जना नेताहरूलाई बोलाइएकोमा ७४ जना उपस्थित थिए भने ६८ जनाले सुझाव दिएका थिए।
‘अध्यक्षमा केपी शर्मा ओली यथावत रूपमा रहनुपर्छ भन्नेमा ५ जनाले धारणा राखेका थिए। नेता सूर्य थापा, भूमेश्वर ढकाल र अर्घाखाँची सचिवलगायतले ओलीलाई अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएको स्रोतको भनाइ छ।
ओलीले छाडे पनि हुने वा निरन्तरता दिए पनि हुने विषयमा ६ जनाले कुरा राखेका थिए। ‘उहाँहरूले बीचबीचको कुरा बोल्नुभयो, यताउता ढल्कनुभएन, ठोस कुरा थिएन,’ ती नेताले भने।
ओली अध्यक्षबाट हट्नुपर्छ भन्ने ५७ जना थिए। जुन ८३ प्रतिशत बढी रहेको नेताहरू बताउँछन्।
साथै बैठकमा रूपान्तरण पक्षधरको पर्चा पनि बाँडिएको थियो।

