Friday, July 3

डिजेलको मूल्य ४३ रुपैयाँले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा

नेपालअखबार,काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा ठुलो गिरावट आए पनि विभागले भाडा भने अत्यन्तै न्यून अर्थात् मात्र २ प्रतिशतले घटाएको हो ।

Advertisement

विभागले बिहीबार जारी गरेको सूचना अनुसार डिजेलको मूल्यमा प्रति लिटर ४३ रुपैयाँको गिरावट आएको छ। यसअघि डिजेलको औसत बजार मूल्य प्रति लिटर २३५‍.८३ रुपैयाँ रहेकोमा हाल घटेर १९२.८३ रुपैयाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा करिब १८.२३ प्रतिशत हुन आउँछ।

Advertisement
Advertisement

वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको छ।

Advertisement

किन घट्यो थोरै भाडा ?

विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार ९.८ देखि १४.३ प्रतिशतसम्म भाडा बढ्नुपर्ने थियो। तर, तत्कालीन समयको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले ५ प्रतिशत मात्र भाडा वृद्धि गरेको थियो।

पहिले पूर्ण रूपमा बढ्नुपर्ने भाडा नबढेका कारण अहिले इन्धनको मूल्यमा भारी गिरावट आउँदा पनि हाललाई २ प्रतिशत मात्र भाडा घटाइएको विभागको स्पष्टीकरण छ।

नयाँ समायोजित भाडा दर यस्तो छ–

१. यात्रुवाहक सवारी साधन : २ प्रतिशत (घटी)

२. पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी : २ प्रतिशत (घटी)

३. तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी : २ प्रतिशत (घटी)

यो नयाँ भाडा दर २०८३ आजै अर्थात् असार १८ गतेदेखि लागू हुने विभागले जनाएको छ।

इन्धनको मूल्यमा भारी कटौती हुँदा पनि भाडा न्यून मात्रामा मात्र घटाइएपछि उपभोक्ता अधिकारकर्मीहरूले भने यसको विरोध गरेका बुधबार नै उपभोक्ताकर्मी माधव तिमल्सिनाले वैज्ञानिक भाडा दरको नाममा कम मात्रै भाडा समायोजन गर्न लागेको भन्दै विरोध गरेका थिए ।