
नेपालअखबार, काठमाडौं । मध्यपुर थिमी नगरपालिका–८ का ४ सय २१ जना स्वबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई लामो समयको प्रतीक्षापछि लालपुर्जा वितरण गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको तर्फबाट भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य राजिव खत्रीले लालपुर्जा वितरण गरेका हुन्।
कार्यक्रममा भक्तपुर–१ का सांसद रुकेश रन्जित, समानुपातिक सांसदहरू कुषुम महर्जन र प्रमिला कुलुजु तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थिति थियो।
कार्यक्रममा सांसद खत्रीले स्वबासी र सुकुम्बासीको समस्या समाधान गर्नुपर्नेमा त्यसकै नाममा राजनीति गरिएको बताए। उनले वर्षौंको प्रतीक्षापछि मध्यपुर थिमी–८ का स्वबासीले लालपुर्जा पाउनु खुसीको कुरा भएको बताए।
‘सुकुम्बासी समस्या होइनन्, सुकुम्बासीका नाममा राजनीति गर्नेहरू समस्या हुन्,’ उनले भने। वर्षौंसम्म लालपुर्जा नपाएका नागरिकले अहिले आफ्नो हकअधिकार प्राप्त गरेको उनको भनाइ थियो।




