
नेपालअखबार, काठमाडौँ । सुनसरीको धरानस्थित श्री नरसिंह भगवान मन्दिरका पुजारीसमेत मिलेर मन्दिरको नाममा रहेको ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारेमा रहेको मन्दिरको साविक भादगाउँ सिनवारी गाभिएका क्षेत्रमा पर्ने कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गैरकानुनी रूपमा हडपेको अनुसन्धानबाट खुलेको हो।
प्रतिवादीहरूको आपसी मिलेमतोमा साविक सिंगिया गाउँ विकास समिति र धरान नगरपालिकाबाट झुट्टा बेहोराको सर्जमिन मुचुल्का बनाई मन्दिरका पुजारी टिर्रु चौधरीको नाममा नामसारी गर्ने सिफारिस गराइएको थियो।
साविक सिंगिया गाविसले झुट्टा नाता प्रमाणित प्रमाणपत्र दिएको र धरान नगरपालिकाले सोही आधारमा मालपोत कार्यालय सुनसरीलाई सिफारिस गरेपछि २०६५ जेठ २१ गते मालपोतले जग्गा नामसारी गर्ने निर्णय गरेको थियो। आर्थिक वर्ष २०८२/८३ को न्यूनतम मूल्याङ्कन अनुसार ३६ लाख १० हजार रुपैयाँ पर्ने उक्त सार्वजनिक जग्गा नक्कली जग्गाधनी खडा गरी नामसारी पछि बिक्री गरेर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको निष्कर्ष छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर पुष्टि भएपछि अख्तियारले बिहीबार प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार संलग्न प्रतिवादीहरूउपर सजाय र बिगो असुलको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। हेर्नुहोस् सूची :






