
नेपालअखबार, पोखरा । सरकारले पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको खण्डलाई स्तरोन्नति गरेको छ । सहरी क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनको सडक निर्माण गरिएको छ । सडक स्तरोन्नतिसँगै सवारीसाधनको गति बढेपछि जोखिम पनि उत्तिकै थपिएको छ ।
पोखरा–२६ का स्थानीयहरू सडक फराकिलो हुँदा बाटो काट्न समेत मुस्किल परेको भन्दै आकासे पुल वा अन्डरपासको माग गरिरहेका छन् ।
स्थानीय तोरण रानाभाट भन्छन्, ‘हाम्रो वडामा सडक दुर्घटना धेरै हुन थालेको छ । गाडीहरू नियन्त्रण नै गुमाउने गरी तीव्र गतिमा हुइँकिन्छन् । आकासे पुल वा अन्डरपास बनाइयोस् ।’
सडक फराकिलो भएपछि विशेषगरी विद्यार्थीलाई बढी समस्या परेको उनीहरूको गुनासो छ । शनिबारको सार्वजनिक सुनुवाइ कार्यक्रममा धेरैले पृथ्वी राजमार्गको सुरक्षित यात्राबारे प्रश्न राखे ।
जवाफमा वडाध्यक्ष नरेन्द्र थापा (नरेन) ले राजमार्ग सङ्घ सरकार मातहतको भए पनि आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । ‘राजमार्ग विस्तारको काम सङ्घीय सरकारले गरेको हो । तर, हाम्रा नागरिकको सुरक्षा हाम्रो दायित्व र प्राथमिकता हो,’ उनले भने, ‘हाम्रो वडामा मुख्य तीनवटा चोक छन् । त्यहाँ आकासे पुल वा अन्डरपासका लागि समन्वय गर्छौं ।’
वडा नम्बर २६ मा मात्रै नभई पृथ्वी राजमार्गको स्तरोन्नति भएपछि सडक आसपासका नागरिकहरू दुर्घटनाको जोखिममा छन् ।
छलफलमा वडाका ग्रामीण क्षेत्रहरूमा बाँदर आतङ्कले उठीबास लाग्ने अवस्था बनेको गुनासो गरे । स्थानीय अनिल अधिकारी आफूहरूको प्रमुख समस्या बाँदर नै भएको बताउँछन् ।
‘हाम्रो मुख्य समस्या भनेको बाँदर आतङ्क हो । किसानले लगाएको बाली बाँदरले सखाप पारिदिन्छ,’ उनी भन्छन्, ‘यसको नियन्त्रणका लागि वडाले के गरिरहेको छ ?’ अर्का स्थानीय टीकाराम अधिकारीले पनि बाँदर आतङ्क नियन्त्रणका लागि वडा वा महानगरपालिकाले कुनै वैज्ञानिक उपाय खोज्नुपर्ने माग राखे ।
वडा सदस्य सुदीपराज ढुङ्गाना बाँदर नियन्त्रणमा वडाको प्रयासले मात्रै सम्भव नहुने बताउँछन् । ‘यो राष्ट्रिय समस्या हो । वडाले मात्रै चाहेर समाधान हुँदैन,’ उनी भन्छन्, ‘सङ्घ सरकारले बाँदर नियन्त्रणका लागि अध्यादेश ल्याउनुपर्छ । राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्नुपर्छ । म पनि सरकारसँग यही माग राख्छु ।’ उनी आफैँ पनि दैनिक बाँदर आतङ्कको सिकार भएको गुनासो गर्छन् ।
कार्यक्रममा धेरैले कुकुरले दिएको हैरानीबारे वडाको ध्यानाकर्षण गराए । रातभरि कुकुर भुकेर सुत्न समस्या भएको र दिउँसो कुकुरलाई जथाभाबी दिसा गराउने गर्दा दुर्गन्ध फैलिएकोमा उनीहरूको चिन्ता छ । ‘हाम्रो वडामा कुकुरको समस्या निकै बढ्दो छ । रातिभरि कुकुर भुकेर सुत्न पाइँदैन । दिउँसोभरि सार्वजनिक ठाउँ र सडकमा कुकुर डोहोर्याएर हिँडाउने अनि दिसा–पिसाब गराएर सडक फोहोर बनाउने काम भइरहेको छ,’ उनीहरूले भने, ‘यसको नियन्त्रणको लागि वडाले अभियान चलाउनुपर्यो ।’
वडाध्यक्ष थापाले टोल विकास संस्था र अन्य सामाजिक सङ्घसंस्थाले बढी निगरानी बढाउनुपर्ने सुझाए । ‘हामी मान्छेलाई वृद्धाश्रममा लगेर राख्छौँ । लाखौँ पर्ने कुकुरलाई घरमा ल्याएर पाल्छौँ,’ उनले भने, ‘कुकुर पाल्ने अधिकार सबैलाई छ । तर, अरूलाई हानि पुग्ने काम गर्न हुँदैन ।’ खुला दिसा गराउने घरधनीको नाम सार्वजनिक गर्ने चेतावनी उनले दिएका छन् ।
महिलाहरूले चाहिँ सडक बत्ती पर्याप्त नहुँदा असुरक्षा बढेको गुनासो राखे । ‘सडक छेउका पोलहरूमा सडक बत्ती राखिदिनुपर्यो । नत्र रातसाँझ महिलालाई हिँड्न असुरक्षा बढेको छ,’ मेनुका अधिकारी भन्छिन् । अर्की स्थानीय माया देवीले कतिपय ठाउँमा बिजुलीका पोलहरू जीर्ण अवस्थामा ढल्न लागेको र त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै तत्काल स्थानान्तरण गर्न सुझाव दिइन् । वडामा यसअघि राखिएका सोलार बत्तीहरूको मर्मतका लागि पनि वडावासीले आग्रह गरेका छन् ।
वडाभित्र रहेका बेगनास, खास्टे, न्युरेनी र गुँदे तालहरूको संरक्षण तथा सौन्दर्यीकरणका लागि माग गरेका छन् । उनीहरूले तालको प्रकृतिअनुसार पर्यटकीय संरचना निर्माण गर्नुपर्ने र सोहीअनुसार ब्रान्डिङ गरेर स्थानीयको आयआर्जनमा सघाउ पुर्याउने योजना ल्याउन आग्रह गरे । वडाध्यक्ष नरेन्द्र थापाले यसका लागि वडाले पहल गरिरहेको जानकारी दिए ।
कार्यक्रममा वडाका सूचना अधिकारी नवराज सापकोटाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन भएका सेवा प्रवाह र विकास निर्माणबारे प्रतिवेदन प्रस्तुत गरेका थिए भने वडा सदस्य तीर्थ रानाभाट, वडा सचिव लीलामणि भण्डारीलगायतले नागरिकका प्रश्नमाथि जवाफ दिए । सोही क्रममा वडाध्यक्ष थापाले आफू विदेश भ्रमणमा रहेका बेला सरकारबाट आफूले पाउने सुविधालाई विपन्न र ज्येष्ठ नागरिकको हितमा सहयोग गर्ने घोषणा गरेका छन् ।




