
नेपालअखबार,काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आवश्यक सम्झौता इरानले गर्छ भन्ने आफूलाई नलागेको बताएका छन्।
ओभल अफिसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै इरानले आत्मसमर्पण गर्नुपर्नेमा पनि उनले जोड दिए।
‘उनीहरूले मैले आवश्यक ठानेजस्तो सम्झौता गर्ने छैनन्। हेर्नुहोस्, हामी त्यहाँ एउटै कारणले छौं: इरानले आणविक हतियार राख्न पाउँदैन,’ उनले भने।
के अमेरिकाले इरान सँगको अन्तरिम सम्झौता लम्ब्याउन खोजिरहेको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले ‘होइन’ भनेका थिए।
जुन महिनामा भएको अन्तरिम सम्झौताले ‘सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्य’ घोषणा गरेको थियो। तर अन्तरिम सम्झौता असफल भयो।
ट्रम्पले जुलाई ७ मा नै सो अन्तरिम सम्झौता समाप्त भयो भनेका थिए। इरानको परराष्ट्र मन्त्रालयले भने त्यसको एक साता पछि यसलाई निलम्बन गरिएको घोषणा गर्यो।
उक्त समझदारी पत्र (एमओयू) अन्तर्गत, इरान र अमेरिका पारस्परिक सहमतिको आधारमा बढीमा ६० दिनभित्र इरानको आणविक कार्यक्रमको भविष्यजस्ता फराकिला मुद्दाहरू समेट्ने अन्तिम सम्झौता गर्न प्रतिबद्ध भएका थिए। एमओयू हस्ताक्षर भएको सोमबार ६० दिन पुग्यो।
त्यसको केही घण्टा अघि, ट्रम्पले फक्स न्युजमा फोन अन्तर्वार्ता दिँदै इरानले ‘आत्मसमर्पणको सेतो झण्डा फहराउनुपर्छ’ भनेका थिए।
क्षेत्रीय रूपमा संयुक्त व्यवस्थापन गर्ने ओमानको प्रस्तावलाई इरानले अस्वीकार गरेको छ।
यसैबीच अमेरिका र इसराइलले फेब्रुअरीमा इरानमाथि आक्रमण गर्नुअघि विश्वको करिब २० प्रतिशत तेल र ग्यास प्रवाह हुने स्ट्रेट अफ हर्मुज खुलाउन ओमान र इरानबीच वार्ता भइरहेको छ। तर वार्ताबारे ओमानसँग ट्रम्प खुशी देखिंदैनन्।
‘यदि ओमानले बाटो छेक्छ भने, हामी उनीहरूलाई नराम्रोसँग बमबारी गर्नेछौं,’ ट्रम्पले फक्सलाई भने।
पछि ओभल अफिसमा ओमानप्रति आफ्नो धैर्यता टुटिसकेको हो कि भनी सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई भने, ‘होइन, उनीहरूले राम्रो व्यवहार गरे जस्तो मलाई लाग्दैन, तर अन्य कुराहरू जस्तै हामी तिनीहरूलाई पनि सजिलै सम्हाल्नेछौं।’




