
नेपालअखबार,काठमाडौं । भारतको कोलकातामा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । आगलागीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
भारतीय मिडियाहरुका अनुसार आगलागी कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित एक होटलमा आज बिहान करिब २ बजे भएको हो । अधिकांश मानिसहरू सुतिरहेका बेलो होटलमा आगलागी भएको थियो ।
आगलागीमा मृत्यु भएका ९ जना बंगलादेशी नागरिक रहेको र उनीहरू उपचारका लागि कोलकाता आएको प्रारम्भिक जानकारी छ ।
आगोबाट बाक्लो धुवाँ र लप्का निस्किएपछि होटल परिसरमा भागदौड मच्चिएको थियो । आगो केही समयमै तीव्र रूपमा फैलिएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलका कैयौँ गाडी घटनास्थलमा पुगेका थिए । त्यसपछि उद्धार तथा राहतको काम सुरु गरिएको थियो ।
बाक्लो धुवाँका कारण दमकलकर्मीलाई आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । धुवाँका कारण होटलका माथिल्ला तलामा पुग्नसमेत समस्या भएको थियो । लामो प्रयासपछि दमकल टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको छ ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले फरेन्सिक टोलीको सहयोगमा घटनाको अनुसन्धान सुरु गरेको छ ।
यसअघि सोमबार पनि भारतको पश्चिम बंगालस्थित बीरभूम जिल्लामा चारतले होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको थियो ।




