प्रदेश १समाचार

भोजपुरमा पहिरोको कारण क्षति

Nepal Akhabar

नेपालअखबार, भोजपुर। लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङको भान्साघर पुरिएको प्रहरीले जनाएको छ ।
टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए । यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी वैकुण्ठे जाने भित्री सडक अवरुद्ध भएको छ ।
यसैबीच अरुण गाउँपालिका–४ ओदानेमा पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सोमबार सडकभन्दा माथिबाट पहिरो झरेर अवरोध बनेको राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको हो । पौवादुङ्मा गाउँपालिका–२ स्थित तिवारीभञ्ज्याङमा पनि पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्गको सडक एकतर्फीरूपमा सञ्चालनमा आएको छ ।रासस

the authoradmin

Leave a Reply