
नेपालअखबार, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औं राष्ट्रिय दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आमनागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरेकी छन् ।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदैछ । मन्त्री बादीले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका स्वरूप, माध्यम र चुनौतीहरू समेत परिवर्तन भइरहेकाले प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोग, जनचेतना अभिवृद्धि र अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।
तीनवटै तहका सरकारको स्पष्ट भूमिका र जिम्मेवारीसहितको कार्यान्वयन योजनासहित मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ कार्यान्वयनमा ल्याइएको उनले बताएकी छन् ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न विधेयक संसद्मा विचाराधीन रहेको र अन्य आवश्यक कानुनी सुधारका प्रक्रिया पनि अघि बढिरहेको मन्त्री बादीले सन्देशमा उल्लेख गरेकी छन् ।
प्राकृतिक विपद्का समयमा विस्थापन, असुरक्षा, गरिबी तथा रोजगारीको अभावका कारण महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समुदाय मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा पर्न सक्ने भएकाले यसतर्फ थप संवेदनशील र प्रभावकारी रूपमा क्रियाशील हुनुपर्नेमा मन्त्री बादीले जोड दिएकी छन् ।




