
नेपालअखबार, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्न नहुने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले प्राकृतिक विपद्का कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन् ।
हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने असाधारण प्रलयलाई आधार बनाएर लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने उनले स्पष्ट पारे। यस्ता घटनालाई आधार मानेर जलविद्युत् आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै लगेमा आयोजनाहरू आर्थिक रूपमा असम्भव हुने उनको भनाइ छ।
यद्यपि आयोजना निर्माण गर्दा सुरक्षा पक्षलाई बेवास्ता गर्न नहुनेमा उनले जोड दिए। सामान्य क्लाउडबर्स्ट, ठुलो बाढी तथा फ्ल्यास फ्लडजस्ता सम्भावित जोखिमबाट आयोजना सुरक्षित रहने गरी आवश्यक सुरक्षा मापदण्ड र पर्याप्त ‘सेफ्टी मार्जिन’ राखेर निर्माण गर्नुपर्ने उनले बताए।
कार्यक्रममा बोल्दै घिसिङले भने, ‘यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन। यस्तो असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने धारणा बनाउनु उचित हुँदैन।’
डिजाइन मापदण्डबारे स्पष्ट पार्दै उनले थपे, ‘हजारौँ वर्षमा एकपटक आउने असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड निर्धारण गरियो भने हाम्रा परियोजनाहरू आर्थिक रूपमा अव्यवहारिक हुन सक्छन्। तर सम्भावित बाढी, फ्ल्यास फ्लड र क्लाउडबर्स्टजस्ता जोखिमलाई ध्यानमा राख्दै पर्याप्त सुरक्षा मापदण्ड र उचित सुरक्षा मार्जिन भने अनिवार्य रूपमा राख्नुपर्छ।’
अध्यक्ष घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी-त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने माग गरे। बाढीले क्षति पुर्याएका निजी क्षेत्रका आयोजनाका लगानीकर्तालाई प्रोत्साहन गर्न भन्सार छुट तथा सहुलियतसहितका प्याकेज ल्याउनुपर्नेमा उनले जोड दिए।
आगामी दिनमा सुरुङ तथा पावर हाउसहरूमा आपत्कालीन निकासद्वार बनाएर कर्मचारी सजिलै निस्कन मिल्ने व्यवस्था गर्नुपर्ने उनले बताए। यसका साथै विपद्पछिको उद्धार तथा प्रतिकार्यमा ऊर्जा मन्त्रालयले प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
लगानीकर्तालाई राहत दिनेबारे बोल्दै उनले भने, ‘लगानीकर्ताको मनोबल बढाउनका लागि पनि सरकारले भोटेकोशी-त्रिशूली करिडोरमा एउटा विशेष प्याकेज घोषणा गर्नुपर्छ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि गरेको थिएँ। ऊर्जा मन्त्रालयले एउटा लिड रोल लिएर हाइड्रो पावरको रेस्क्युदेखि लिएर सबै ठाउँमा पुस गर्ने रोल थियो। मन्त्रालयले यो विपद्मा जति भूमिका निर्वाह गर्नुपर्थ्यो त्यति भयो कि भएन भन्ने एउटा प्रश्नचिह्न छ।’
जलविद्युत् आयोजना तथा ऊर्जा क्षेत्रको विस्तार र विकासमा सबैले ध्यान दिनुपर्नेमा घिसिङले जोड दिए।




