
नेपालअखबार, काठमाडौं । इरानसँग मिलेर काम गर्ने यमनको हुथी समूहले क्षेप्यास्त्र विकास गर्न अमेरिकी कम्पनी एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली ‘क्लड कोड’ प्रयोग गरेको छ।
एन्थ्रोपिकले बिहीबार सार्वजनिक गरेको सुरक्षा प्रतिवेदनअनुसार उत्तरी यमनमा सक्रिय एउटा समूहले क्लड कोडको सहयोगमा एकैपटक तीनवटा क्षेप्यास्त्र परियोजनामा काम गरिरहेको थियो।
एन्थ्रोपिकले उक्त समूहलाई हुथी भनेर किटान गरेको छैन। रोयटर्सका अनुसार प्रतिवेदनमा प्रयोगकर्ताहरू हुथी थिए वा थिएनन् भन्ने खुलाइएको छैन।
तर उत्तरी यमनको अधिकांश भूभाग र राजधानी सना हुथीको नियन्त्रणमा छन्। हुथीसँग यसअघि नै निर्देशित रकेट, क्रुज तथा ब्यालिस्टिक मिसाइल चलाउने अनुभव र प्राविधिक संरचना छ।
त्यसैले एसोसिएटेड प्रेस, फाइनान्सियल टाइम्स र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त समूह हुथीसँग सम्बन्धित हुन सक्ने बलियो सम्भावना रहेको जनाएका छन्।
एन्थ्रोपिकका अनुसार समूहले पहिलो परियोजनाअन्तर्गत सामान्य बजारमा पाइने फोनस्तरको फ्लाइट कम्प्युटर प्रयोग गरेर लक्ष्य पहिचान गर्न सक्ने निर्देशित रकेट विकास गरिरहेको थियो।
दोस्रो परियोजनामा दुई हजार किलोमिटरभन्दा टाढासम्म प्रहार गर्ने ब्यालिस्टिक क्षेप्यास्त्र थियो।
तेस्रो र सबैभन्दा महत्त्वाकांक्षी परियोजनाको नाम ‘आर–२०००’ राखिएको थियो। यसअन्तर्गत विभिन्न प्रकारका क्षेप्यास्त्र र ध्वनिको गतिभन्दा कैयौं गुणा तीव्र गतिमा उड्ने ‘हाइपरसोनिक ग्लाइड भेहिकल’ समेत विकास गर्ने योजना थियो।
समूहले क्लड कोडलाई सफ्टवेयर विकास गर्ने इन्जिनियरहरूको विकल्पमा प्रयोग गरेको एन्थ्रोपिकले जनाएको छ।
क्लड कोडले क्षेप्यास्त्रलाई स्थिर राख्ने, उडानको दिशा नियन्त्रण गर्ने र लक्ष्यसम्म डोर्याउने ‘गाइडेन्स, नेभिगेसन एन्ड कन्ट्रोल’ सफ्टवेयर बनाउन सघाएको थियो।
यसले खुला स्रोतमा उपलब्ध ‘अटोपाइलट’ प्रणालीलाई फोनस्तरको फ्लाइट कम्प्युटरमा जडान गर्ने, नियन्त्रणसम्बन्धी कोड लेख्ने, क्षेप्यास्त्रको अवस्थिति अनुमान गर्ने र कम्प्युटरमा उडान परीक्षण गर्ने काममा समेत सहयोग गरेको थियो।
एन्थ्रोपिकका अनुसार समूहले क्लडका विभिन्न संस्करणलाई एउटा इन्जिनियरिङ टोलीका सदस्यजस्तै परिचालन गरेको थियो। एउटालाई कोड लेख्न, अर्कोलाई अनुसन्धान गर्न र तेस्रोलाई पहिलोले लेखेको कोड जाँच्न लगाइएको थियो।
कम्पनीको सुरक्षा प्रणालीले उनीहरूका धेरै अनुरोध रोकेको थियो। तर सबै अनुरोध रोक्न सकेन।
एन्थ्रोपिकले जनाएअनुसार प्रयोगकर्ताहरूले आफूले बनाउन खोजेको वस्तुको वास्तविक उद्देश्य लुकाएका थिए। उनीहरूले कामलाई विभिन्न खाता र संवादमा बाँडेका कारण कुनै एउटा संवादबाट सम्पूर्ण क्षेप्यास्त्र परियोजना बुझ्न कठिन भएको थियो।
समूहले एउटा निर्देशित रकेटको वास्तविक परीक्षणसमेत गरेको थियो।
एन्थ्रोपिकका अनुसार उक्त परीक्षण असफल भएको देखिन्छ। रकेट परीक्षण गरेको केही घण्टामै उनीहरू असफलताको कारण पत्ता लगाउन फेरि क्लडमा फर्किएका थिए।
तर त्यसपछिको अनुसन्धानबाट उनीहरूले के पत्ता लगाए भन्ने जानकारी एन्थ्रोपिकसँग छैन। त्यसपछि उनीहरू क्षेप्यास्त्र विकासमा कति अघि बढे भन्ने पनि एन्थ्रोपिकलाई थाहा छैन।
‘उनीहरूले सञ्चालनमा ल्याउन सकिने हतियार तयार पारेको प्रमाण हामीसँग छैन,’ एन्थ्रोपिकले आफ्नो प्रतिवेदनमा भनेको छ।
कम्पनीले उनीहरूका खाता बन्द गर्नुअघि नै समूहले क्लड वा ‘म्याटल्याब’ जस्ता व्यावसायिक प्रणालीबिना चल्ने छुट्टै ‘अफलाइन सिमुलेसन टुलकिट’ बनाइसकेको थियो। त्यसैले क्लडमा पहुँच बन्द भएपछि पनि उनीहरूले केही प्राविधिक काम जारी राख्न सक्ने देखिन्छ।
एन्थ्रोपिकले सम्बन्धित सबै खाता बन्द गरेको र प्राप्त सूचना सरकारी तथा निजी क्षेत्रका साझेदारलाई दिएको जनाएको छ। यो गतिविधि सन् २०२५ डिसेम्बरदेखि २०२६ अगस्टसम्म चलेको थियो।
एपीका अनुसार हुथीका राजनीतिक ब्युरो सदस्य हजाम अल-असदले भने आफ्नो समूहले क्षेप्यास्त्र विकास गर्न खुला स्रोतको यस्तो प्रविधिमा निर्भर भएको दाबीलाई ‘तर्कहीन’ भनेका छन्।
एपीसँग कुरा गर्दै आर्मामेन्ट रिसर्च सर्भिसेजका विश्लेषक ट्रेभर बलले क्लडसँग हाइपरसोनिक क्षेप्यास्त्रबारे सोध्नु र वास्तवमै त्यस्तो क्षेप्यास्त्र बनाउन सक्नु फरक कुरा भएको बताएका छन्। उनका अनुसार हुथीसँग हाइपरसोनिक क्षेप्यास्त्र उत्पादन गर्न सक्ने क्षमता रहेको प्रमाण छैन।
हाइपरसोनिक क्षेप्यास्त्र बनाउन सक्ने क्षमता उनीहरूसँग नभए पनि अरू धेरै खालका क्षेप्यास्त्र बनाउन सक्ने क्षमता उनीहरूसँग छ। र उनीहरूको त्यो क्षमतालाई क्लडले थप बलियो बनाएको हुन सक्छ।
यो घटनाले थोरै जनशक्ति भएको सशस्त्र समूहले समेत एआईलाई इन्जिनियरिङ टोलीका रूपमा प्रयोग गरेर आधुनिक हतियार विकासको गति बढाउन सक्ने नयाँ खतरा देखाएको छ।




