Wednesday, September 16

सीमा सुरक्षा र सहकार्यबारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

नेपालअखबार, सुर्खेत । नेपाल-चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ।

Advertisement

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिसहितको टोली स्थलमार्ग हुँदै चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको हो ।

Advertisement
Advertisement

पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफल कार्यक्रममा सहभागी हुन टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । चिनियाँ टोलीसँग छलफल जारी छ ।

Advertisement

अपराध नियन्त्रणदेखि व्यापार सहजीकरणसम्म छलफल

छलफलमा नेपाल-चीन सीमा क्षेत्रमा हुनसक्ने अपराध तथा अवैध गतिविधि नियन्त्रण, सीमा क्षेत्रमा शान्ति सुरक्षाको अवस्था, व्यापार सहजीकरण र सीमावर्ती हुम्लाका नागरिकको आवतजावतलगायत विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी हुम्लाका सीमावर्ती नागरिकले गर्ने कैलाश मानसरोवर यात्रालाई सहज बनाउने विषयमा पनि चिनियाँ अधिकारीसँग छलफल हुने बताइएको छ। सीमा क्षेत्रमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने तथा नियमित रूपमा सीमा सुरक्षा बैठक आयोजना गर्नुपर्ने विषयमा समेत नेपाली पक्षले धारणा राख्नेछ ।

पुराङ र हुम्लाबीच भगिनी सम्बन्धको प्रस्ताव

छलफलका क्रममा चीनको पुराङ काउन्टी र हुम्ला जिल्लाबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा विशेष प्रस्तावमा हस्ताक्षर गर्ने तयारीसमेत रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

उनका अनुसार सीमा क्षेत्रमा सम्भावित विपद्को जोखिम, त्यसबाट हुनसक्ने क्षति न्यूनीकरण तथा विपद्का समयमा दुई देशबीच आवश्यक समन्वय र सहकार्यका विषयमा पनि छलफल हुनेछ।

सुरक्षा अधिकारी र जनप्रतिनिधि सहभागी

ताक्लाकोट पुगेको टोलीमा प्रमुख जिल्ला अधिकारी गुरागाईं, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउद, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शंकर खड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख मेघराज कँडेल र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी छन् ।

टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ, नारा लेक र हिल्सा हुँदै स्थलमार्गबाट ताक्लाकोट पुगेको हो। हिल्सा नाका र ताक्लाकोटबीच हुने नियमित आवतजावत तथा सीमावर्ती क्षेत्रमा देखिने सुरक्षा र प्रशासनिक विषयलाई छलफलले थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।