
नेपालअखबार,पाल्पा । पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि ८३ हजार रूपैयाँ सहयोग उपलब्ध गराएका छन्।
कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम संकलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन्।
हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन्। संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कारागारका प्रशासक भगवानभक्त अर्यालले जानकारी दिए।
कैदीबन्दीले कारागारभित्र उद्यमशिलताका काम गर्दै आएको र त्यहीबाट आर्जन गरेको केही रकमबाट बाढीपीडितलाई सहयोग गरेका उनले बताए।
‘हामी जहाँ भए पनि समाजकै सदस्य हौँ’ भन्ने भावनाका साथ कैदीबन्दीले रकम संकलन गरेका अर्यालले बताए।
‘उनीहरूको सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना भने अर्थपूर्ण छ,’ उनले भने।
कारागारभित्र कैदीबन्दीले मुढा बनाउने, सिलाइँबुनाइ, डोको नाम्लो बनाउने, बात्ती बनाउनेलगायत सीपमूलक काम गर्दै आएका छन्।
त्यस्तै, तनहुँका नेपाल मगर सङ्घ भिमाद र ढोर फिरफिरे तमु समाजले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका हुन्।
नेपाल मगर संघ भिमादले एक लाख ९५ हजार सहयोग गरेको छ।
संघका अध्यक्ष ज्ञानबहादुर थापाले समितिका सदस्यबाट रकम संकलन गरी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिए।
त्यसैगरी ढोर फिरफिरे तमु समाजले एक लाख ५६ हजार ५१५ सहयोग गरेको छ।
समाजका अध्यक्ष नन्दलाल गुरुङका अनुसार समाजका सदस्यबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको थियो।




