
नेपालअखबार,पोखरा । लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव निकै बढेपछि पोखरास्थित रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले आग्रह गरेका छन् । सेती नदीमा पानीको सतह बढेर बस्ती डुबानमा पर्ने जोखिम बढेको भन्दै माइकिङ गरेर बस्ती खाली गर्न भनिएको हो ।
सुरक्षाकर्मीहरूले माइकिङ गर्दै रामघाट क्षेत्रका बासिन्दालाई आफ्ना अत्यावश्यक सामान र कागजातसहित सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन् । ‘अविरल वर्षाका कारण सेती नदीस्थित रामघाट क्षेत्रमा पानीको बहाव बढी डुबान हुँदै गएकाले आफू र आफ्ना अत्यावश्यक सामानहरू सुरक्षित स्थानमा लैजानुहुन विनम्र अनुरोध गर्दछौँ,’ माइकिङ मार्फत भनिएको छ ।
गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर भने सुरक्षित रहेकोले त्यसतर्फ जान सकिने प्रहरीले जनाएको छ । विगत केही दिनयताको निरन्तर वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा जलसतह खतराको विन्दुभन्दा माथि पुगेको छ । सेती नदीको तीव्र बहावका कारण नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
प्रशासनले नदी किनारका सम्पूर्ण बस्तीहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान र कुनै आपतकालीन अवस्था आइपरेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।




