
नेपालअखबार,काठमाडौँ । पृथ्वी राजमार्गमा आजदेखि सवै किसिमका सवारी साधन सञ्चालन हुने भएको छ।
असोज ७ देखि भएको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि अवरूद्ध राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार बेलुकी सूचना जारी गर्दै थप पहिरो नखसे बुधबार दिउँसो १ बजेदेखि सबै किसिमका सवारी साधन सञ्चालन हुने जानकारी दिएकी छन्।
यसअघि पहिरोका कारण विभिन्न ठाउँमा सवारी आवागमन एकतर्फी सञ्चालनमा थियो।
‘पहिरो लगायतका अवरोधहरू हटाउने काम भइरहेको र हाल एकतर्फी मात्रै सवारी आवागमन सुचारू भएकामा थप पहिरो/अवरोध नआए मिति २०८३/०६/१४ गते बुधबार अपराह्न १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रजिअ पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानहरूमा पहिरोको जोखिम कायमै रहेकाले सवारी चालक, यात्रु र सर्वसाधारणहरूलाई पनि सावधानिपूर्वक यात्रा गर्न र गराउन प्रशासनले अनुरोध गरेको छ।





