Saturday, October 3

पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी

नेपालअखबार, पोखरा । सञ्चार र पर्यटनसँग खेल पर्यटनलाई जोड्दै पोखरामा तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ।

Advertisement

पर्यटकीय राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज २४ गते शनिबारप्रतियोगिता आयोजना गर्न लागिएको हो।

Advertisement
Advertisement

प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ। प्रतियोगिता ८ किलोमिटर दूरीको हुने आयोजकले जनाएको छ।

Advertisement

May be an image of one or more people and lighting

प्रतियोगितामा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान गरी छ वटा इभेन्ट समावेश गरिएको छ।

पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित विभिन्न देशका ७१ पुरुष र ३३ महिला गरी १०४ जनाले अनलाइन फाराम भरेका थिए।

प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएका थिए। दोस्रो संस्करणमा भने आठ देशका १९६ जना धावकले सहभागिता जनाएका थिए।

खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः ३० हजार, १५ हजार, ७ हजार र ३ हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यस्तै छैटौँदेखि दसौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही १ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

वडास्तरीय खुला, महिला र यू–१६तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार र ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

विदेशी धावकतर्फ विजेतालाई १५ हजार र उपविजेतालाई ७ हजार रुपैयाँ तथा भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले पोखरा क्लिक अनलाइनमार्फत फाराम भर्नुपर्नेछ। अनलाइन फाराममार्फत धावकले यही असोज २१ गते राति १२ बजेसम्म आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।

May be an image of one or more people and dais

आयोजकका अनुसार प्रतियोगिताले खेलकुदको माध्यमबाट गाउँ पर्यटन प्रवर्द्धनसँगै कृषि तथा अर्थतन्त्रको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। प्रतियोगिता नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा आयोजना हुन लागेको हो।

प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा मेडिप्लस एन्ड ट्रमा सेन्टर तथा इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहेका छन्।

हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स, अफिसियल टेलिभिजनमा पोखरा टेलिभिजन र आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा नेलेचुरल स्प्रिङ वाटर रहेको प्रतियोगिता संयोजक दीननाथ बरालले जनाएका छन्।