Thursday, October 8

नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही

नेपालअखबार,काठमाडौँ । नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा छिरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही दिनअघि ४ वटा मोटरसाइकल र स्कुटर सुरुङ मार्गमा प्रवेश गरेका थिए ।

Advertisement

धादिङको नौबिसेतिरबाट सुरुङमा छिरेका २ वटा मोटरसाइकल र एउटा स्कुटरलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । ट्राफिक प्रहरीले बागमती प्रदेश–०२–०५१ प ५९९७ नम्बरको स्कुटर, गण्डकी प्रदेश–३–००१–१४३३ र बीएएबी १०७२ नम्बरको मोटरसाइकललाई जरिवाना गरेको हो । ती मोटरसाइकललाई निषेधित ठाउँमा सवारी चलाएको कसुरमा ५ सय देखि १५ सयसम्म जरिवाना गरिएको एसपी सुवेदीले जानकारी दिए ।

Advertisement
Advertisement

नागढुंगा सुरुङभित्र सुरक्षाका कारण दुईपांग्रे सवारी साधन, पैदल यात्रु, तीनपांग्रे सवारी साधन र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ । तर, नियम उल्लङ्घन गरेर दुईपांग्रे सवारी त्यहाँ अनधिकृत रूपमा प्रवेश गर्ने गरेका छन् । सुरुङ मार्ग सञ्चालन भएदेखि हालसम्म ३२ वटा दुईपांग्रे सवारीलाई कारबाही गरिएको एसपी सुवेदीलाई बताए ।

Advertisement

पछिल्लो समय एउटा मोटरसाइकल नागढुंगा तर्फको भागबाट छिरेर नौबिसे निस्किएको सीसीटिभीमा देखिएको छ । सो सवारीलाई ट्राफिक प्रहरीले खोजिरहेको छ ।