Sunday, October 11

नेपाली सेनाले बेत्रावतीमा बनाएको बेलीब्रिज हस्तान्तरण

नेपालअखबार,नुवाकोट । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज (बेलीब्रिज) गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

Advertisement

सेनाले आइतबार उक्त पुल हस्तान्तरण गरेको हो।

Advertisement
Advertisement

गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि सेनाले उक्त क्षेत्रमा पुनर्निर्माणको काम अघि बढाएको थियो। फलाकु खोलामा पुल निर्माणका लागि करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँच मार्ग बनाइएको थियो।

Advertisement

सेनाले असोज २० गतेदेखि एक्रो ब्रिज जडान सुरु गरेको थियो। असोज २४ गते जडान कार्य सम्पन्न भएपछि आइतबार सडक आयोजनालाई हस्तान्तरण गरिएको हो।

४० टन भारवहन क्षमता भएको उक्त पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ।

पुल सञ्चालनमा आएपछि नुवाकोट र रसुवाका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहजता पुग्ने विश्वास लिइएको छ।