
नेपालअखबार, काठमाडौँ। गोरखाको चुमनुब्रीस्थित स्यार खोलामा गएको सुक्खा पहिरोले नदी थुनिएर फुटेपछि बुढीगण्डकीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रहरूमा भयानक वितण्डा मच्चाएको छ ।
बाढीले गोरखाका धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा व्यापक भौतिक, संरचनागत तथा आर्थिक क्षति पुर्याएको छ । दर्जनौँ घर, विद्यालय र महत्त्वपूर्ण पक्की पुलहरू बाढीको भेलमा बगेका छन् । स्थानीय जनप्रतिनिधि र प्रशासनले बिहान सबेरैदेखि माइकिङ गर्दै ‘अलर्ट’ गराएका कारण यति ठुलो विपद्मा पनि मानवीय क्षति भने टरेको छ ।
सर्वस्व गुमाएर रित्तो हात भागेका विस्थापितहरूको दैनिक जीवन भने अत्यन्तै कष्टकर बनेको छ ।
विपद्को सुरुवात चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा खसेको सुक्खा पहिरोबाट भएको थियो । पहिरोले थुनिएको स्यार खोला एक्कासि फुटेर बुढीगण्डकीमा मिसिएपछि तटीय क्षेत्रका बस्तीहरूमा पसेको थियो । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले वडा नम्बर ३ का घट्टेखोला, पयुँ, सल्लेरी तथा जगत बगर क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
बाढीले जगत बगरको नामनिसान नै मेटाइदिएको छ भने घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवन पूर्ण रूपमा बगाएको छ । भोटेकोशीकै शैलीमा उर्लिएर आएको बाढी देखेपछि स्थानीय बासिन्दाहरू घरबाट लत्ताकपडा र अन्नपातसमेत निकाल्न नभ्याई ज्यान जोगाउन डाँडा र जङ्गलतर्फ भागेका थिए । बाढीले अझै पनि सिर्दिबासतर्फ कटान गरिरहेको छ ।
त्यहाँबाट उर्लिएको बाढीले तल्लो क्षेत्रमा पर्ने धार्चे गाउँपालिकामा पनि उस्तै विनाश निम्त्याएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार बाढीले माछीखोला र दोभान बजार क्षेत्रमा असर पुर्याउनुका साथै तीन–चार वटा घर, गोदाम र केरौजा तथा माछीखोला जोड्ने महत्त्वपूर्ण पुलसहित अन्य पुलहरू बगाएको छ ।
चुम्रीतिर, सल्लेरी, क्याम्प, जगत र बगर क्षेत्रका संरचनाहरूमा क्षति पुग्नुका साथै बाटोघाटो भत्किएर आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहान करिब साढे ३ बजेतिर बाढीको पूर्वसूचना पाएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको अध्यक्ष गुरुङले बताए । यद्यपि, बुढीगण्डकी अझै पूर्ण रूपमा नखुलेकाले जोखिम कायमै रहेको बताइएको छ ।
गोरखाकै अर्को प्रभावित क्षेत्र आरुघाट गाउँपालिकामा बाढी र कालो लेदोले व्यापक नोक्सानी गरेको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले आरुघाट बजारबाट धादिङ र गोरखा जोड्ने एउटा मोटररेबल पुल र सोतीबाट मान्बु, काशीगाउँतर्फ जाने अर्को पुल पूर्ण रूपमा बगाएको छ ।वडा नम्बर ५ मा पर्ने शान्ति बजार क्षेत्रका करिब ५० वटा घरहरू र सोतीका १० देखि १५ वटा घरसहित एउटा होटेल पूर्ण रूपमा डुबानमा परेका छन् । बिहान ५ बजेतिर माथिल्लो तटीय क्षेत्रबाट बाढी आएको खबर पाएपछि साढे ४ बजेदेखि नै सुरक्षाकर्मी र सञ्चारमाध्यमको सहायताले स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । बाढीको बहाव बढ्दै जाँदा बिहान साढे ७ बजे सोतीको पुल र १० बजेतिर तल्लो क्षेत्रको पुल बगेको थियो । अहिले सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी अस्थायी बेस क्याम्प खडा गरेर उद्धार र व्यवस्थापनको काम भइरहेको छ । अध्यक्ष गुरुङ आफैँ मेसिनसहित सडकको लेदो पन्छाउन फिल्डमा खटिएका छन् भने विस्थापितका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।बुढीगण्डकी नदी पारि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पनि बाढीले सुकुमबासी बस्ती नै सखाप पारेको छ । गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलका अनुसार वडा नम्बर २ स्थित विशालनगर (आरुघाट पारिको बजार) मा रहेको सुकुम्बासी बस्तीका करिब ६० देखि ६५ घरटहराहरू बाढीले बगाएको छ । एक्कासि पसेको बाढीका कारण स्थानीयले सामान निकाल्न त पाएनन् नै, सुँगुर, बङ्गुरलगायतका घरपालुवा जनावरहरूसमेत बगेका छन् । गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको खण्ड बगेको छ भने धादिङतर्फको खण्ड पनि भाँचिएर यातायात पूर्ण विच्छेद भएको छ । सल्यानटार मुनिको क्षेत्र र नर्सिङधाम लगायतका स्थानमा बाक्लो लेदो थुप्रिएको छ ।
सर्वस्व गुमाएका विशालनगरका बाढीपीडितहरूको उद्धार र व्यवस्थापनमा स्थानीय सरकार सक्रिय बनेको छ । विस्थापितहरूलाई तत्कालका लागि खाली तथा निर्माणाधीन घरहरूमा आश्रय दिई सामूहिक मेस (भोजन) को व्यवस्था मिलाइएको छ । गाउँपालिकाले उनीहरूलाई आगामी केही दिन कमला देवी र सिले देवी विद्यालयका भवनहरूमा राख्ने र त्यसपछि अस्थायी घरटहरा निर्माण गर्ने तयारी गरेको छ ।
तत्कालको सङ्कट टार्न स्थानीय तहले तदारुकता देखाए पनि क्षतिको आकार निकै ठुलो भएकाले पुनर्निर्माण र प्रभावितको स्थायी पुनर्स्थापनाका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग अपरिहार्य देखिएको छ । हाल क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको स्थानीय तहहरूले जनाएका छन् ।




