Sunday, October 11

चोरी भएको प्राचीन मूर्तिसहित एक युवक पक्राउ

नेपालअखबार,विराटनगर। नेपालको मन्दिरबाट चोरी भएको प्राचीन मूर्ति भारत लैजाँदै गर्दा सीमावर्ती जोगबनी क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन्।

Advertisement

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५६औँ वाहिनी, बथनाहा अन्तर्गतको ‘एफ’ कम्पनी जोगबनीले उनलाई सीमा स्तम्भ नम्बर १८० नजिकै रहेको बीसीपी गेटबाट नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेमा भोजपुर जिल्ला निवासी २० वर्षीय सुरज विश्वकर्मा रहका छन् । उनलाई शनिबार दिउँसो जोगबनी सीमामा खटिएको एसएसबीको बोर्डर इन्टिग्रेसन टिम (बीआईटी)ले नियन्त्रणमा लिएको हो । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)ले लिखित सूचना दिएपछि उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

Advertisement

एक मन्दिरबाट ‘माता रानी’ (देवी)को प्राचीन मूर्ति चोरी भएको र उक्त मूर्ति लिएर अभियुक्त भारत प्रवेश गर्न सक्ने आशङ्का सशस्त्र प्रहरीको थियो । उक्त सूचनाका आधारमा एसएसबीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको थियो। सोही क्रममा नेपालबाट भारततर्फ प्रवेश गर्दै गरेका उनलाई रोकेर खोजी गर्दा उनको साथमा रहेको बोराबाट पित्तलजस्तो धातुले बनेको प्राचीन मूर्ति बरामद भएको थियो। उक्त मूर्तिको तौल करिब ८ देखि ९ किलोग्राम रहेको छ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका विश्वकर्माले उक्त मूर्ति नेपालको मन्दिरबाट चोरी गरी भारतमा बिक्री गर्ने उद्देश्यले ल्याएको स्वीकार गरेका छन्।

कागजी प्रक्रिया पूरा गरेपछि बरामद गरिएको मूर्ति र पक्राउ परेका अभियुक्तलाई थप कानुनी कारबाहीका लागि सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको जिम्मा लगाइएको छ। एसएसबीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी तथा सीमापार अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीबिच समन्वय जारी रहेको जनाएको छ।