
नेपालअखबार,विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २४औँ बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ ।
बिहीबार बसेकाे बैठकले गरेका निर्णयहरूबारे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले जानकारी दिएका हुन् ।
उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित भएकोमा सभामुख, उपसभामुख, सम्पूर्ण प्रदेश सभा सदस्यहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, विषयगत समिति र प्रदेश सभाका कर्मचारीहरूलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको बताए ।
यसैबीच प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशभित्रका थान संस्कृतिको संरक्षण, संवर्द्धन र विकास सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसले प्रदेशभित्र रहेका रैथाने तथा परम्परागत धार्मिक–सांस्कृतिक स्थलहरूको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क महासन्धिअन्तर्गत हुने ‘कोप–३१’ सम्मेलनमा कोशी प्रदेश सरकारको तर्फबाट सहभागी हुन पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ।
कोशी प्रदेशमा हालै सम्पन्न अन्तर–प्रदेश मुख्यमन्त्री सम्मेलनु भव्य रूपमा सफल भएको निष्कर्ष निकाल्दै सरकारले यसमा सहभागी हुने सातवटै प्रदेशका मुख्यमन्त्रीहरू, प्रदेश योजना आयोगका उपाध्यक्षहरू, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता र प्रदेश योजना आयोगका सचिवलगायतलाई धन्यवाद ज्ञापन गरेको छ।




