Sunday, October 18

कोलकातामा दुर्गा पूजामा भागदौड मच्चिँदा १९ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित चोरबागान दुर्गा पूजामा शनिबार साँझ भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

Advertisement

पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले घटनाबारे जानकारी दिँदै कलकत्ता उच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरी छानबिन गरिने बताएका छन्।

Advertisement
Advertisement

शनिबार साँझ करिब ७:३० बजे उत्तर कोलकाताको लोकप्रिय दुर्गा पूजा स्थल चोरबागानमा भागदौड भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

Advertisement

दुर्गा पूजाको सातौं दिन सप्तमीका अवसरमा साँघुरो गल्लीबाट भीड अघि बढ्ने क्रममा घटना भएको हो। भारी वर्षाका कारण सडक चिप्लो बनेको थियो।

हावडा पुलबाट दुई किलोमिटरभन्दा कम दूरीमा रहेको चोरबागान कोलकाताका पुराना दुर्गा पूजा पण्डालमध्ये एक हो। प्रत्यक्षदर्शीका अनुसार वर्षाबाट ओत लाग्न खोज्दै मानिसहरू साँघुरो गल्ली हुँदै पूजा स्थलतर्फ ओइरिएका थिए। त्यसक्रममा केही मानिस चिप्लिएर लडेपछि उनीहरूमाथि अरू मानिस खस्दा भागदौड मच्चिएको थियो।

भागदौडमा १९ जनाको मृत्यु भएपछि आयोजक, सुरक्षा निकायका प्रतिनिधि र कार्यक्रम व्यवस्थापन कम्पनीका अधिकारीसहित सात जनालाई पक्राउ गरिएको छ।

पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टिएमसी) पक्षले कमजोर भीड व्यवस्थापन र प्रहरीको अपर्याप्त उपस्थितिका कारण घटना भएको आरोप लगाएको छ।

टिएमसीले पूजा आयोजकमध्ये एक जना मुख्यमन्त्रीका ‘भतिजा’ रहेको दाबी गरेको छ।

उसले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘बंगालका एक भाजपा विधायकसमेत यस पूजा समितिका अध्यक्ष छन्। जवाफदेहिता कहाँ छ? यी सबै मृत्युका लागि जिम्मेवार को हो?’

मुख्यमन्त्री अधिकारीले मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति र परिवारका एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेका छन्।

घाइतेलाई जनही पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराइनेछ। उपचाररत घाइतेको सम्पूर्ण उपचार खर्च पनि राज्य सरकारले बेहोर्ने उनले बताएका छन्।