Wednesday, October 21

ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

नेपालअखबार,काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ।

Advertisement

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार ट्रम्प प्रशासनले इतिहासमै अन्य कुनै पनि प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको छ।

Advertisement
Advertisement

सन् २०२५ जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता रद्द गरिएका भिसाको संख्या अगस्ट १० सम्म १ लाख ७५ हजारभन्दा बढी थियो। पछिल्लो तथ्यांकले केही सातायता भिसा रद्द गर्ने क्रम तीव्र भएको रोयटर्सले जनाएको छ।

Advertisement

ट्रम्प प्रशासनले भिसामा अमेरिका आएका विदेशीले कानुन उल्लंघन गर्ने, ठगी गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधि गरेमा कुनै सहनशीलता नअपनाइने बताएको छ। प्रशासनले आप्रवासन नियन्त्रण र देशनिकाला अभियानलाई आन्तरिक सुरक्षा सुधार गर्ने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ।

तर मानवअधिकारका पक्षधरहरूले सरकारले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको आरोप लगाएका छन्। उनीहरूले विशेषगरी जातीय अल्पसंख्यक समुदायमाथि विभेदपूर्ण निगरानी र कारबाही भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

गाजामा इजरायलको आक्रमणको विरोधमा प्रदर्शन गर्ने प्यालेस्टाइन समर्थक विदेशी नागरिकको भिसा रद्द गरिएको घटनालाई मानवअधिकारवादीहरूले आलोचना गरेका छन्। त्यस्तै, अमेरिकी दक्षिणपन्थी टिप्पणीकार चार्ली कर्कको हत्याबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका विदेशी नागरिकको भिसा रद्द गरिएको घटनाले पनि विवाद निम्त्याएको थियो।

ट्रम्प प्रशासनले आप्रवासी तथा भिसा आवेदकको सामाजिक सञ्जाल जाँचलाई पनि कडा बनाएको छ। यसका अतिरिक्त, केही कार्य भिसामा महँगो शुल्क लगाएर कानुनी आप्रवासनलाई समेत कठिन बनाइएको छ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पले अवैध आप्रवासन रोक्ने प्रतिबद्धता जनाएका थिए। तर उनको प्रशासनका पछिल्ला नीतिले कानुनी रूपमा अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकलाई समेत असर पारेको भन्दै आलोचना भइरहेको छ।