Saturday, October 24

युरोप न्यून ग्यास भण्डारसहित जाडोमा प्रवेश गर्दै

नेपालअखबार, बर्लिन  । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले युरोप ऐतिहासिक रूपमा न्यून प्राकृतिक ग्यास भण्डारसहित जाडोयाममा प्रवेश गरिरहेको भन्दै थप आपूर्ति अवरोध थेग्न कठिन हुने चेतावनी दिएका छन् ।

Advertisement

अमेरिका–इजरायल र इरानबीचको युद्धले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खला प्रभावित भइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

Advertisement
Advertisement

जर्मनीको बर्लिनमा बुधबार आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा बिरोलले स्ट्रेट अफ होर्मुजमा अवरोधका कारण विश्वका सबै क्षेत्र प्रभावित भइरहेको बताएका हुन् ।

Advertisement

उनका अनुसार, युरोप विशेष जोखिममा रहेको छ अनि खाडी क्षेत्रमा तत्काल युद्धविराम भए पनि आगामी महिनाहरूमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को मूल्य बढ्न सक्ने छ ।

बिरोलका अनुसार युरोपेली देशहरूले सामान्यतया जाडो सुरु हुनुअघि पर्याप्त ग्यास भण्डारण गर्छन् । तर यस वर्ष जाडो सुरु हुँदा युरोपको ग्यास भण्डार ऐतिहासिक औसतभन्दा निकै कम छ ।

युरोपले ग्यासका लागि एसियाली देशहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था पनि छ । एसियाली देशहरू मध्यपूर्वबाट आउने ऊर्जामा अझ बढी निर्भर छन् ।

‘यदि यस वर्ष जाडो अत्यधिक कठ्याङ्ग्रिने खालको भयो भने युरोपमा प्राकृतिक ग्यासको मूल्य अझ बढ्न सक्छ,’ उनी भन्छन् । ऊर्जा क्षेत्र बढ्दो रूपमा राजनीतिक स्वार्थसँग जोडिँदै गएकाले अनिश्चितता बढेकोले ‘यस वर्ष र अर्को वर्ष पनि युरोपका लागि जीवन सहज नहुने’ चेतावनी बिरोलले दिएका छन् ।

आवश्यकताभन्दा कम ग्यास भण्डार

युरोपेली संघ (ईयू)को प्राकृतिक ग्यास भण्डारण क्षमता हाल करिब ७२ प्रतिशत मात्र भरिएको छ । सामान्य अवस्थामा जाडो सुरु हुँदा भण्डार करिब ९० प्रतिशत भरिएको हुने गरेको छ । विश्लेषकहरूका अनुसार अहिलेको कमीबाट हुने ऊर्जा अभावले १ करोडदेखि १ करोड २० लाख घरललाई आवश्यक परिमाण बराबरको असर पार्न सक्छ ।

ग्यासको आपूर्ति घट्दै गएपछि ईयूका ऊर्जा मन्त्रीहरूले घरपरिवार र व्यवसायलाई ग्यास तथा ऊर्जा खपत सीमित गर्न आग्रह गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरिरहेको समाचारमा उल्लेख छ ।

युरोपेली देशहरूले लामो समयदेखि उद्योग सञ्चालन, विद्युत् उत्पादन र जाडोमा घर तताउन आयातित ग्यासमा निर्भर हुँदै आएका छन् । युद्ध सुरु हुनुअघि युरोपमा आयात हुने एलएनजीको झन्डै १० प्रतिशत हिस्सा स्ट्रेट अफ होर्मुज हुँदै आउने गरेको थियो । तर इरानले जहाजहरूलाई लक्षित गरी आक्रमण गरेपछि उक्त मार्गबाट हुने आयात घटेको छ ।

बिरोलले आफूले लामो समयदेखि होर्मुज जलमार्ग बन्द हुन सक्ने जोखिमबारे चेतावनी दिँदै आएको बताए । आईईएमा नयाँ कर्मचारी भर्ना गर्दा पनि उनले प्रायः ‘आजै यो जलमार्ग बन्द भयो भने के गर्नुहुन्छ ?’ भन्ने प्रश्न सोध्ने गरेको उल्लेख गरे ।

उनका अनुसार मध्यपूर्वका देशहरूले अहिले होर्मुज जलमार्गलाई छल्न नयाँ पाइपलाइन निर्माण गर्ने र पुराना पाइपलाइनको क्षमता बढाउने काम गरिरहेका छन् । तर यस्तो तयारी धेरै पहिले नै गर्नुपर्ने थियो ।

‘सरकारहरूले आवश्यक कदम नचालेकोमा म वास्तवमै निराश छु । अहिले सबैजना हतारमा उपाय खोजिरहेका छन्,’ उनले भने । बाब अल–मन्देब जलमार्ग आसपास बढेको तनावले पनि ऊर्जा आपूर्तिको समस्या थप जटिल बनाएको उनको भनाइ छ ।

डिजेल अभावको जोखिम पनि बढ्दै

युरोपले प्राकृतिक ग्याससँगै डिजेलजस्ता प्रशोधित इन्धनको अभाव पनि सामना गर्नुपर्ने जोखिम छ । पुराना प्रशोधन केन्द्रबाट हुने उत्पादन घट्दै गएको र आयात प्रभावित भएको अवस्थामा डिजेल आपूर्ति चुनौतीपूर्ण बन्न सक्छ ।

युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूमा गरेको आक्रमणले पनि डिजेलको सम्भावित अभावमा योगदान पुर्‍याएको बिरोलको भनाइ छ । उनका अनुसार रुसबाट युरोप तथा विश्व बजारमा आउने डिजेल आपूर्तिको करिब एकतिहाइ हिस्सा रोकिएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोले युरोपतर्फको ग्यास आपूर्ति घटाएको थियो । त्यसपछि आईईएले युरोपको रुसी ऊर्जामाथिको निर्भरता घटाउनुपर्ने चेतावनी दिँदै आएको थियो । ईयूले रुसी ग्यासको प्रयोग पूर्ण रूपमा अन्त्य गर्ने योजना बनाएको छ । तर खाडी क्षेत्रमा जारी संकटका कारण फ्रान्सजस्ता केही सदस्य राष्ट्रले फेरि ग्यास आयात बढाएका छन् ।

बिरोलका अनुसार युरोपले आणविक ऊर्जाबाट उत्पादन हुने विद्युत्मा पनि पहिले नै बढी निर्भरता कायम राख्नुपर्ने थियो । घरेलु आणविक ऊर्जा उत्पादनले बाह्य आपूर्तिमा हुने अवरोधबाट जोगिन सहयोग गर्न सक्ने उनको तर्क छ ।

तेलको मूल्यमा पुनः दबाब

ऊर्जा आपूर्तिमा देखिएको संकट कम गर्न जी–७ राष्ट्रहरूले मार्चमा आफ्नो रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा उपलब्ध गराउने सहमति गरेका थिए । त्यसको व्यवस्थापनमा बिरोलले समन्वय गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गरेयता आईईएले आपत्कालीन तेल भण्डार बजारमा ल्याउने कामको समन्वय गरेको यो तेस्रो पटक हो ।

बिरोलका अनुसार रणनीतिक भण्डारबाट तेल बजारमा ल्याउँदा मूल्य नियन्त्रणमा केही प्रभाव परेको थियो । यस महिनाको सुरुमा जी–७ देशहरूले तेल तथा डिजेलको आपूर्ति बढाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तत्काल गिरावट आएको उनले बताए ।

तर अहिले मूल्य फेरि बढिरहेको छ । फेब्रुअरीयता प्राकृतिक ग्यासको मूल्य १४० प्रतिशतले बढेको छ भने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि कारोबार भइरहेको छ ।

बिरोलले युद्धको असर आगामी महिनाहरूसम्म कायम रहने र यसले विश्वभर ऊर्जा ढुवानी हुने तरिकामा दीर्घकालीन परिवर्तन ल्याउने बताए ।

उनका अनुसार ऊर्जा अहिले व्यापारिक वस्तुमा मात्र सीमित नरही राजनीतिक दबाब सिर्जना गर्ने माध्यमसमेत बनेको छ । रुसले विगतमा ग्यास आपूर्तिलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरेको उदाहरण दिँदै उनले युरोपमा बढ्दो ऊर्जा संकटले राजनीतिक असन्तुष्टिसमेत बढाउन सक्ने बताए ।

‘ऊर्जा क्षेत्रमा भू–राजनीतिक प्रभाव यति व्यापक र लामो समयसम्म हावी भएको मैले कहिल्यै देखेको थिइनँ,’ उनले भने ।

थप आपूर्ति अवरोध थेग्न कठिन

बिरोलका अनुसार युरोपेली संघसँग अझै करिब ८० प्रतिशत आपत्कालीन ऊर्जा भण्डार बाँकी छ । तर विश्वव्यापी आपूर्ति प्रणालीले थप अवरोध थेग्न सक्ने अवस्था कमजोर बन्दै गएको छ । होर्मुज र बाब अल–मन्देब दुवै जलमार्ग निर्बाध रूपमा सञ्चालनमा नआए ऊर्जा मूल्यलाई नियन्त्रणमा राख्न उपलब्ध विकल्प सीमित हुनेछ ।

‘दुवै जलमार्ग सर्तरहित रूपमा चाँडै खुलून् भन्ने मेरो आशा छ । अन्यथा, ऊर्जा बजारमा मूल्यलाई अहिलेको स्तरमा कायम राख्न हामीसँग धेरै विकल्प बाँकी रहने  छैनन्,’ बिरोल भन्छन् ।