Wednesday, November 4

नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए

नेपालअखबार, काठमाडौँ। नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गत असोज ३० गतेदेखि सुरु गरिएको सहुलियतदरको इन्टरनेट सेवा १८ दिनको अवधिमा ११ हजार ७६४ नयाँ ग्राहकले लिएका छन् ।

Advertisement

सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत सर्वसाधारणको इन्टरनेट पहुँच सहज र सुलभ बनाउने उद्देश्यले नेपाल टेलिकमले सहुलियत दरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

Advertisement
Advertisement

इन्टरनेट सेवा महँगो भएको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि सरकारले मूल्य घटाउने र सेवा सर्वसुलभ बनाउने विषयमा निरन्तर गृहकार्य गर्दै आएको थियो । सोहीअनुसार चालु आर्थिक वर्षका चाडपर्वलाई समेत लक्षित गरी नेपाल टेलिकमले सहुलियत प्याकेज ल्याएको हो ।

Advertisement

नेपाल टेलिकमका अनुसार असोज ३० देखि कात्तिक १६ गतेसम्म सेवा लिएका ११ हजार ७६४ नयाँ ग्राहकमध्ये ४० प्रतिशतले सहुलियत दरको प्याकेज रोजेका छन् । यसले कम क्षमताको इन्टरनेट आवश्यक पर्ने तर महँगो प्याकेज लिनुपर्ने बाध्यतामा रहेका ग्राहकलाई राहत पुगेको देखिएको छ ।

गत वर्ष कात्तिक महिनाभरिमा जम्मा २ हजार ९८१ ग्राहकले मात्रै फाइबर इन्टरनेट सेवा लिएका थिए । तर, यस वर्ष सहुलियत प्याकेज सुरु भएपछि ग्राहक संख्या उल्लेख्य रूपमा बढेको हो ।

त्यस्तै, पछिल्लो तीन सातामा मात्रै इन्टरनेट जडानका लागि नेपाल टेलिकमको अनलाइन सेवा तथा कल सेन्टरमार्फत २८ हजार १९२ जनाले नाम टिपाएका छन् । यसले सहुलियत दरमा इन्टरनेट उपलब्ध गराउँदा सेवाप्रति सर्वसाधारणको चासो र माग बढेको संकेत गरेको छ ।

यसैबीच, नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र मुलुकका दुर्गम क्षेत्रसहित विभिन्न १ हजार ६०० स्थानमा फोरजी–एलटीई सेवा विस्तार गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै बोलपत्रसमेत आह्वान गरिसकेको छ ।

सरकारले दूरसञ्चार सेवालाई थप गुणस्तरीय, विश्वसनीय, प्रतिस्पर्धी र सर्वसुलभ बनाउने विषयलाई प्राथमिकतामा राखेको छ। चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणकारी वर्ष बनाउने लक्ष्यसहित सरकारले आवश्यक नयाँ नीति, कानुन तथा संस्थागत र संरचनागत सुधारका काम अघि बढाउने जनाएको छ ।

सहुलियत दरको फाइबर इन्टरनेटमा बढ्दो ग्राहक आकर्षण र फोरजी सेवा विस्तारको योजनालाई सरकारले डिजिटल पहुँच विस्तार तथा दूरसञ्चार क्षेत्रको सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा अघि बढाएको छ।