Sunday, November 8

सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो

नेपालअखबार,काठमाडौँ । पृथ्वीमा अहिलेसम्म फेला परेका सबैभन्दा पुराना मंगलग्रहका चट्टानमध्ये एकको पहिचान गरिएको छ । अफ्रिकाको सहारा मरुभूमिमा भेटिएको उक्त उल्कापिण्डले रातो ग्रह मंगलको प्रारम्भिक इतिहासबारे नयाँ तथ्य उजागर गरेको वैज्ञानिक निष्कर्ष छ ।

Advertisement

यसले कम्तीमा ४ अर्ब १० करोड वर्षअघि नै मंगल ग्रहको सतहमा पानीको प्रभाव परेको प्रमाणसमेत प्रस्तुत गरेको छ । वैज्ञानिकहरूका अनुसार गुलाबी रङको उक्त उल्कापिण्डको रासायनिक संरचना पहिले अध्ययन गरिएका मंगलग्रहबाट आएका अन्य नमुनाभन्दा फरक र विशिष्ट छ । यसको अध्ययनले मंगल ग्रहको प्रारम्भिक भूगर्भीय अवस्था, त्यहाँको सतह र भित्री संरचनाबारे नयाँ जानकारी दिएको छ ।

Advertisement
Advertisement

अमेरिकाको क्यालिफोर्नियास्थित पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन ल्याबोरेटरीकी ग्रह वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक याङ लिउले यसलाई अत्यन्त दुर्लभ र प्राचीन मंगलग्रहको उल्कापिण्ड भनेकी छन् ।

Advertisement

अक्टोबर २९ मा साइन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनबारे उनले भनेकी छन्, ‘यो अत्यन्त दुर्लभ र प्राचीन मंगलग्रहको उल्कापिण्ड हो । यसले हामीलाई मंगल ग्रहको प्रारम्भिक सतह र भित्री तहको अध्ययन गर्ने अवसर दिएको छ । त्यो यस्तो समय थियो, जतिबेला पृथ्वीमा जीवनको सुरुवात हुँदै थियो ।’

वैज्ञानिकहरूका अनुसार यो उल्कापिण्ड ग्रहको भित्री भागमा रहेको तातो चट्टानको तह अर्थात् म्यान्टलबाट निस्किएको पग्लिएको पदार्थ (म्याग्मा) बाट बनेको थियो । पछि उक्त पदार्थ ग्रहको बाहिरी सतह अर्थात् क्रस्टको हिस्सा बनेको थियो ।

लिउका अनुसार यसको रासायनिक संरचनाले मंगल ग्रहको त्यस्तो भूभागबाट आएको देखाउँछ, जहाँका चट्टान यसअघि वैज्ञानिकहरूले नमुनाका रूपमा संकलन गरेर अध्ययन गरेका थिएनन् ।

मालीको नुनिलो मैदानबाट भेटिएको उल्कापिण्ड

‘टेघाजा ००१’ नाम दिइएको उक्त उल्कापिण्ड पश्चिम अफ्रिकी मुलुक मालीको एउटा नुनिलो मैदानको नामबाट राखिएको हो । सन् २०२२ मा उल्कापिण्ड खोजकर्ताहरूले उक्त क्षेत्रमा यो चट्टान फेला पारेका थिए ।

उक्त उल्कापिण्ड आठवटा टुक्राबाट बनेको छ । ती सबैको कुल तौल ७९८.५ ग्राम अर्थात् करिब १.७६ पाउन्ड छ । सबैभन्दा ठूलो टुक्राको तौल ४४२ ग्राम अर्थात् करिब ०.९७ पाउन्ड रहेको छ ।

वैज्ञानिकहरूका अनुसार मंगल ग्रहमा कुनै क्षुद्रग्रह वा पुच्छ्रेताराले ठक्कर दिँदा उत्पन्न भएको शक्तिशाली प्रभावले उक्त चट्टानलाई मंगल ग्रहको कमजोर गुरुत्वाकर्षणबाट बाहिर निकालेर अन्तरिक्षमा पुर्‍याएको थियो ।

1

अन्तरिक्षमा पुगेपछि त्यो चट्टान सूर्यको परिक्रमा गर्न थाल्यो । सम्भवतः लाखौँ वर्षसम्म सूर्यको वरिपरि परिक्रमा गरेपछि पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा परेर पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो ।

तर मंगल ग्रहमा उक्त ठक्कर कहिले भएको थियो र उल्कापिण्ड पृथ्वीमा कहिले खसेको थियो भन्ने कुरा यकिन गर्न कठिन रहेको वैज्ञानिकहरू बताउँछन् ।

अध्ययनमा सहभागी नभएका बेलायतको इम्पेरियल कलेज लन्डनका पृथ्वी तथा ग्रह विज्ञानका सहप्राध्यापक म्याथ्यु गेन्जले यसलाई महत्त्वपूर्ण खोज बताएका छन् । उनले भनेका छन्, ‘मंगल ग्रहबाट नयाँ पाहुना आएको देख्नु सधैँ सुखद हुन्छ । यो अत्यन्त प्राचीन छ । मंगल ग्रहबाट आएका सबैभन्दा पुराना उल्कापिण्डमध्ये एक हुनुका साथै पृथ्वीमै बनेका कुनै पनि चट्टानभन्दा पुरानो छ ।’

उनले भनेका छन्, ‘यो तथ्य आफैँमा निकै रोमाञ्चक छ । यसले मंगल ग्रहको इतिहासको सबैभन्दा प्रारम्भिक चरणको ढोका खोलिदिएको छ । त्यो यस्तो समय थियो, जतिबेला मंगल ग्रहमा पानी रहेको अपेक्षा गरिएको छ ।’

संयोगवश भएको अध्ययन, पत्ता लाग्यो ४ अर्ब १० करोड वर्ष पुरानो इतिहास

वैज्ञानिकहरूले सुरुमा गरेको विश्लेषणले उक्त चट्टान निकै पुरानो भएको तत्काल देखाएको थिएन । त्यसैले प्रमुख अनुसन्धानकर्ता लिउले सुरुमा यसको अध्ययन नगर्ने निर्णयसमेत गर्न लागेकी थिइन् । उनले भनिन्, ‘जब मलाई पहिलोपटक यो नमुना अध्ययनका लागि प्रस्ताव गरियो, त्यसलाई ‘सर्गोटाइट’ वर्गको उल्कापिण्डका रूपमा वर्गीकृत गरिएको थियो । पृथ्वीमा भेटिएका मंगलग्रहका उल्कापिण्डमध्ये यो सबैभन्दा धेरै पाइने प्रकार हो ।’

लिउले यसअघि पनि धेरै सर्गोटाइट उल्कापिण्डको अध्ययन गरिसकेकी थिइन् । पृथ्वीमा अहिलेसम्म पहिचान गरिएका मंगलग्रहका उल्कापिण्डमध्ये झन्डै ९० प्रतिशत यही वर्गका छन् । सामान्यतया यस्ता उल्कापिण्ड ६० करोड वर्षभन्दा कम पुराना हुन्छन् ।

अध्ययनका क्रममा लिउले उक्त उल्कापिण्डमा जिर्कोन नामक खनिज रहेको पत्ता लगाइन् । यो एक प्रकारको क्रिस्टल हो, जुन पग्लिएको चट्टान चिसिएर ठोस बन्दा निर्माण हुन्छ ।

लिउका अनुसार जिर्कोनलाई चट्टानको निर्माणकाल पत्ता लगाउन प्रयोग गर्न सकिन्छ । उनी भन्छिन्, ‘जिर्कोन एक प्रकारको समयको अभिलेख राख्ने बाकसजस्तै हो, जसले हामीलाई कुनै चट्टान कहिले निर्माण भयो भन्ने कुरा अत्यन्त सटीक रूपमा पत्ता लगाउन सहयोग गर्छ ।’

टेघाजा ००१ को अध्ययनमा अनुसन्धानकर्ताहरूले यसभन्दा एक कदम अगाडि बढेर उक्त चट्टानको उत्पत्ति भएको हुन सक्ने मंगल ग्रहका १३ वटा सम्भावित स्थानसमेत पहिचान गरेका छन् ।

क्रिस्टलहरूको उमेर मापन गर्दा उक्त उल्कापिण्ड कम्तीमा ४ अर्ब १० करोड वर्ष पुरानो भएको पत्ता लाग्यो । यसको अर्थ मंगल ग्रहको अस्तित्व सुरु भएको पहिलो ४० करोड वर्षभित्रै यो चट्टान निर्माण भएको थियो । यस उमेरको अनुमानलाई पुष्टि गर्न अनुसन्धानकर्ताहरूले अध्ययनका सहलेखक तथा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका विद्यावारिधि शोधार्थी हेवार्ड मेल्टनले विकास गरेको नयाँ उमेर मापन विधिसमेत प्रयोग गरे । मेल्टनका अनुसार नयाँ विधिमा चट्टानको ठूलो भागलाई घोलेर अध्ययन गर्नुभन्दा नमुनाको अत्यन्त सानो क्षेत्रलाई लेजरको सहायताले वाष्पीकरण गरी विश्लेषण गरिन्छ ।

उनले भनेका छन्, ‘लेजर प्रयोग गर्दा हामी टेघाजा ००१ जस्ता नमुनाको अध्ययन परम्परागत प्रविधिको तुलनामा निकै छिटो गर्न सक्छौँ ।’

अनुसन्धान टोलीले मानव कपालको मोटाइको करिब दस भागको एक भाग बराबरको व्यास भएको सानो लेजर किरण प्रयोग गरेको थियो । त्यसको सहायताले उल्कापिण्डभित्र रहेका अत्यन्त साना कण र क्रिस्टलहरूको विश्लेषण गरिएको थियो ।

मेल्टनका अनुसार यो नयाँ प्रविधिले कुनै नमुनाको उमेर मापन गर्न लाग्ने समय एक महिनाबाट घटाएर एक दिनमा सीमित गरेको छ । यसले अध्ययनपछि मूल नमुनाको धेरै भाग सुरक्षित राख्नसमेत सहयोग गर्छ, जसलाई भविष्यमा थप अनुसन्धानका लागि प्रयोग गर्न सकिन्छ ।

पृथ्वीको समुद्री सतहका चट्टानसँग मिल्दोजुल्दो

इम्पेरियल कलेज लन्डनका सहप्राध्यापक गेन्जका अनुसार टेघाजा ००१ बेसाल्ट नामक चट्टान हो । पृथ्वीका महासागरको पिँधमा पाइने र आइसल्यान्ड तथा हवाईजस्ता क्षेत्रमा ज्वालामुखी विस्फोट हुँदा बाहिर निस्कने चट्टानसँग यसको प्रकृति मिल्दोजुल्दो छ ।

नयाँ विश्लेषणले टेघाजा ००१ को विशिष्ट संरचनाले प्राचीन मंगल ग्रहको सतहमा पानीसँग रासायनिक तथा भौतिक अन्तरक्रिया भएको संकेत गरेको छ । अनुसन्धानकर्ता मेल्टनका अनुसार यस खोजले प्रारम्भिक मंगल ग्रहको अवस्थाबारे मात्र नभई पृथ्वीको विकासक्रम बुझ्न पनि सहयोग पुर्‍याउन सक्छ । उनले भनेका छन्, ‘यसले हामीलाई प्रारम्भिक मंगल ग्रह मात्र होइन, पृथ्वीलाई पनि अझ गहिराइमा बुझ्न सहयोग गर्नेछ । मंगल ग्रह किन सुख्खा भयो तर पृथ्वी किन भएन भन्ने प्रश्नको उत्तर खोज्नसमेत मद्दत पुग्न सक्छ ।’

उनका अनुसार यसले ग्रहहरूमा जीवनको सम्भावना बुझ्न पनि महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । टेघाजा ००१ लाई अन्य मंगलग्रहका उल्कापिण्डभन्दा फरक बनाउने अरू विशेषता पनि छन् ।

2

लिउका अनुसार यो चट्टान मुख्यतः क्याल्सियमको मात्रा धेरै भएका दुई प्रकारका खनिजबाट बनेको छ । तर ती खनिजको अनुपात यसअघि अध्ययन गरिएका कुनै पनि नमुनामा नदेखिएको अनुपातमा छ । त्यसैगरी, यसमा पाइने अक्सिजनका विभिन्न आइसोटोपहरूको सापेक्षिक मात्रा पनि मंगल ग्रहबाट आएका अन्य ज्ञात चट्टानभन्दा फरक रहेको छ ।

मंगल ग्रहको कुन भूभागबाट आएको थियो उल्कापिण्ड ?

कुनै उल्कापिण्डको खनिज तथा रासायनिक संरचनाको अध्ययन गरेर त्यसको उत्पत्ति कुन ग्रहमा भएको हो भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यसका लागि वैज्ञानिकहरूले उल्कापिण्डको संरचनालाई सम्बन्धित ग्रहको सतहमा गरिएका अध्ययनबाट प्राप्त तथ्याङ्कसँग तुलना गर्छन् ।

मंगल ग्रहका सन्दर्भमा नासाका विभिन्न अभियानले संकलन गरेका तथ्याङ्क यसका लागि प्रयोग गरिन्छन् । ती अभियानमा भाइकिङ ल्यान्डर तथा क्युरियोसिटी र पर्सिभिरेन्स रोभरले मंगल ग्रहको सतहबाट संकलन गरेका जानकारी पनि समावेश छन् ।

टेघाजा ००१ को अध्ययनमा अनुसन्धानकर्ताहरूले यसभन्दा एक कदम अगाडि बढेर उक्त चट्टानको उत्पत्ति भएको हुन सक्ने मंगल ग्रहका १३ वटा सम्भावित स्थानसमेत पहिचान गरेका छन् ।

ती स्थान मंगल ग्रहको दक्षिणी उच्च भूभागमा रहेका छन् । यसले उल्कापिण्ड मंगल ग्रहको कुन क्षेत्रबाट अन्तरिक्षमा उछिट्टिएको थियो भन्ने विषयमा थप अनुसन्धान गर्ने आधार दिएको छ । लिउले भनिन्, ‘मलाई लाग्छ, वैज्ञानिक समुदाय यो नमुनाप्रति निकै उत्सुक हुनेछ । यसबाट भविष्यमा अझ धेरै नयाँ खोज हुनेछन् । यो त अनुसन्धानको सुरुवात मात्र हो ।’

‘खोजको ठूलो सम्भावना बोकेको नमुना’

सन् २०२२ मा पत्ता लागेपछि टेघाजा ००१ ले उल्कापिण्ड संकलनकर्ता ड्यारिल पिटको ध्यान आकर्षित गरेको थियो । उनी अमेरिकाको माइन राज्यस्थित बेथेलमा रहेको माइन मिनरल एन्ड जेम म्युजियममा उल्कापिण्ड विभागका अध्यक्षसमेत हुन् । पिटका अनुसार टेघाजा ००१ मा यसअघि अध्ययन गरिएका कुनै पनि मंगलग्रहका नमुनामा नदेखिएको खनिज संरचना र यसको अत्यन्त पुरानो उमेरले उनलाई सबैभन्दा बढी आकर्षित गरेको थियो ।

उनले भनेका छन्, ‘टेघाजा ००१ प्रति मेरो सबैभन्दा बढी आकर्षणको कारण यसको खनिज संरचना हो, जुन यसअघि अध्ययन गरिएका मंगल ग्रहका कुनै पनि नमुनासँग मिल्दैन । यसको उमेर पनि उत्तिकै महत्त्वपूर्ण छ । यी विशेषताले सम्भावित रूपमा नयाँ खोजहरूको ठूलो अवसर सिर्जना गरेका छन् ।’

पछि उनले उक्त चट्टान माइन मिनरल एन्ड जेम म्युजियमले खरिद गर्ने व्यवस्था मिलाएका थिए । तर त्यसका लागि तिरिएको रकम भने सार्वजनिक गरिएको छैन ।

इम्पेरियल कलेज लन्डनका सहप्राध्यापक गेन्जका अनुसार टेघाजा ००१ को सबैभन्दा उल्लेखनीय पक्ष अर्को ग्रहको अध्ययन गर्न सकिने अवसर मात्र होइन, त्यस ग्रहको सतहभन्दा निकै भित्रको अवस्था पनि बुझ्न सकिने सम्भावना हो ।

उनले भनेका छन्, ‘टेघाजा ००१ को वास्तविक विशेषता के हो भने यसले हामीलाई अर्को ग्रहको अध्ययन गर्ने अवसर मात्र दिएको छैन, त्यसको सतहभन्दा निकै गहिराइमा रहेको अवस्था पनि हेर्न सम्भव बनाएको छ । यसबाट मंगल ग्रह निर्माण भएको करिब ५० करोड वर्षपछि कस्तो अवस्थामा थियो भन्ने कुरा बुझ्न सकिन्छ ।’