Saturday, November 14

अमेरिकामा तेल बोकेको र यात्रुबाहक पानीजहाज ठोक्कियो

नेपालअखबार,काठमाडौं । अमेरिकाको न्यु अर्लिन्समा ट्यांकर पानीजहाज र यात्रुवाहक क्रुज पानीजहाज आपसमा ठोक्किँदा ३२ जना घाइते भएका छन्।

Advertisement

शुक्रबार मिसिसिपी नदीमा किनारमा रोकिराखिएको यात्रुवाहक पानीजहाज ‘अमेरिकन हेरिटेज’लाई ट्यांकर ‘एट्लान्टिक एस्फाल्ट’ले ठक्कर दिएको थियो।

Advertisement
Advertisement

ठक्करपछि क्रुज पानीजहाज पल्टिएर डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement

दुर्घटनाका बेला क्रुजमा रहेका यात्रुहरू ज्यान जोगाउन हतारहतार बाहिर निस्किएका थिए।

केही यात्रु नदीमा खसेका थिए।

उद्धारकर्मी, अग्नि नियन्त्रक र अन्य पानीजहाजमा रहेका व्यक्तिहरूले नदीमा खसेका यात्रुको उद्धार गरेका थिए।

न्यु अर्लिन्सकी मेयर हेलेना मोरेनोका अनुसार दुर्घटनामा परेका सबै यात्रु र चालक दलका सदस्यको अवस्था पत्ता लागेको छ। ३२ जना यात्रुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरू कसैको पनि अवस्था गम्भीर नरहेको उनले बताइन्।

उनका अनुसार दुर्घटनाका बेला क्रुज पानीजहाजमा करिब १८० देखि १९० जना यात्रु र चालक दलका सदस्य थिए।

तर, जहाजको क्षमता भने १५० यात्रुको मात्रै रहेको थियो। सन् २०१५ मा निर्माण भएको उक्त जहाज अमेरिकन क्रुज लाइन्स कम्पनीको हो।

मेयर मोरेनोका अनुसार शुक्रबार मध्याह्न ट्यांकरले नियन्त्रण गुमाएर किनारमा रोकिएको क्रुजलाई ठक्कर दिएको थियो।

त्यसपछि क्रुज डुब्न थालेको र अन्ततः पल्टिएर नदीमा उल्टिएको थियो।

न्यु अर्लिन्स एड्भोकेट र टाइम्स-पिकायुनले संयुक्त रूपमा सञ्चालन गरेको समाचार वेबसाइटका अनुसार बन्दरगाह प्रहरी प्रमुख मेलानी मोन्ट्रोलले जहाज पल्टिनुअघि ८७ जना यात्रु बाहिर निस्किसकेको बताएकी छन्।

अमेरिकी तटरक्षक बलले दुर्घटनापछि घटनास्थल आसपासको नदीमा सबै पानीजहाजको आवतजावत बन्द गरेको जनाएको छ।

तटरक्षक बलकी क्याप्टेन मेलानी बर्नहमले ट्यांकरको स्टेयरिङ प्रणालीमा समस्या आएको हुन सक्ने बताएकी छन्। तर दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।

अमेरिकन क्रुज लाइन्सले तटरक्षक बल र स्थानीय अधिकारीहरूसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ। कम्पनीले विज्ञप्तिमा यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको र घटनामा संलग्न सबैको अवस्थाबारे आफूहरू चिन्तित रहेको बताएको छ।

मेयर मोरेनोले स्थानीय, राज्य र संघीय निकायका उद्धारकर्मी तथा अन्य पानीजहाजमा रहेका व्यक्तिहरूको तत्कालको प्रयासले मानवीय क्षति हुनबाट जोगिएको बताएकी छन्।