
नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार बिहान चीन प्रस्थान गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए ।
भ्रमणका क्रममा रास्वपा र सीपीसीबिच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक विषयमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए ।
सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट समान खालका सुझाव आएको आचार्यले जिकिर गरे ।
‘सत्तारूढ दलको डेलिगेसन भएकाले प्रधानमन्त्रीले राज्यले जे सोच्छ, त्यसमा ख्याल गर्नुहोला भन्नुभएको हो । भ्रमणको विषयमा प्रधानमन्त्री र पार्टी सभापतिको समान खालको चासो र सुझाव आएका छन्,’ उनले भने ।
आचार्यले भ्रमणका क्रममा सीपीसीका महासचिव तथा राष्ट्रपति सी जिनपिङसँग भेट नहुने स्पष्ट पारे । यद्यपि दोस्रो तहका नेतासँग बेइजिङमा छलफल हुन सक्ने उनले बताए । छलफलमा प्रविधि, कनेक्टिभिटी र क्रस बोर्डरका विषयमा केन्द्रित हुने आचार्यले जानकारी दिए ।
नेपाल र चीनबिचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा दुवै पार्टीले यस भ्रमणलाई लिएका छन् ।
प्रतिनिधिमण्डल आइतबार चीनको सिचुवान प्रान्तस्थित चेङ्दुमा पुग्नेछ । कात्तिक ३० गते सिचुवानस्थित ‘हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्क’ को भ्रमण गर्ने र सोही दिन ‘पार्टी स्कुल अफ सीपीसी’ का नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा रास्वपाका तर्फबाट महामन्त्री आचार्यले आफ्ना धारणा राख्नेछन् ।
मंसिर १ गते वेनचुआन क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे अवलोकन गर्ने कार्यक्रम छ । सन् २००८ मा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट करिब ९० हजारले ज्यान गुमाएका थिए ।
मंसिर २ मा सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापन विषयक अन्तरक्रियामा सहभागी हुनेछन् । मंसिर ६ मा झेजियाङ विश्वविद्यालयमा ‘थिङ्क ट्याङ्क’ विकासबारे अवलोकन गर्नेछन् । मंसिर ७ मा चीन–नेपाल ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ मा सहभागी हुने कार्यक्रम छ ।
मंसिर ७ मा प्रतिनिधिमण्डल बेइजिङ प्रस्थान गर्नेछ । सोही दिन बेइजिङमा सीपीसीका उच्च तहका नेताहरूसँग भेटघाट तथा विज्ञहरूसँग छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए । मंसिर १० गते भ्रमण सम्पन्न गरी टोली स्वदेश फर्किनेछ ।




