Sunday, November 15

इसराइली हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर मारिए

नेपालअखबार,काठमाडौं । इसराइलले दक्षिणी गजाको खान युनिस क्षेत्रमा गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर समिर अबु युनिस मारिएका छन्।

Advertisement

हमासले शनिबार आफ्ना रफाह ब्रिगेड कमान्डर युनिस मारिएको पुष्टि गरेको कतारी मिडिया अल जजिराले जनाएको छ।

Advertisement
Advertisement

अलजजिराका अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै खान युनिसमा ड्रोन आक्रमण गरी हमासका एक वरिष्ठ सैन्य कमान्डरलाई निशाना बनाएको बताएका थिए।

Advertisement

खान युनिसको अल-मवासी क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरू बस्दै आएको पाललाई लक्षित गरी आक्रमण भएको थियो।

उक्त घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरूलाई खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा लगिएको थियो।

अलजजिराले प्रमाणित गरेको घटनास्थल नजिकैको भिडिओमा अस्पताल परिसरभित्र एम्बुलेन्स र रगत लागेको देखिने स्ट्रेचरहरू देखिएका छन्।

भूमध्यसागरको तटीय क्षेत्रमा रहेको अल-मवासीमा विस्थापित प्यालेस्टिनीहरू पाल टाँगेर बस्दै आएका छन्।

इसराइलले यस क्षेत्रलाई यसअघि मानवीय सहायता क्षेत्र घोषणा गरेको भए पनि पटकपटक आक्रमण गर्दै आएको छ।

गजामा मृत्यु हुनेको सङ्ख्या बढ्दै

गजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा इसराइली आक्रमणमा १६ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा यस्तो उल्लेख छ।

सन् २०२५ अक्टोबर ११ मा गजामा युद्धविराम लागू भएयता इसराइली आक्रमणमा कम्तीमा एक हजार ६४३ प्यालेस्टिनी मारिएका छन् भने पाँच हजार ९६४ जना घाइते भएका छन्।

भग्नावशेषमुनिबाट कम्तीमा ८५० जनाको शव निकालिएको मन्त्रालयले जनाएको छ।

सन् २०२३ अक्टोबरमा गजामा इसराइलले सैन्य कारबाही सुरु गरेयता मृत्यु हुनेको संख्या ७४ हजार ६९५ पुगेको छ।

त्यस्तै, एक लाख ७६ हजार ९३ जना घाइते भएको अलजजिराले जनाएको छ।

यसैबीच, चिसोका कारण गजामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

यस जाडोयाममा हाइपोथर्मिया (शरीरको तापक्रम अत्यधिक घट्ने अवस्था) का कारण नौ महिनाका एक शिशुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इसराइली आक्रमणका कारण अधिकांश विस्थापित भएका गजाका बासिन्दा अहिले पनि पाल र क्षतिग्रस्त भवनमा बस्न बाध्य छन्।

पछिल्लो समय परेको भारी वर्षाले उनीहरूका अस्थायी आवासमा पानी पसेपछि थप कठिनाइ भएको छ।