
नेपालअखबार, पोखरा । कास्कीमा दर्जनौँ जलविद्युत कम्पनी सञ्चालनमा छन् । कतिपयले विद्युत् उत्पादन गरेर बिक्री थालिसकेका छन् भने कतिपय निर्माणको चरणमा छन् । अझै दर्जनौँ हाइड्रोपावर प्रारम्भिक अवस्थामै छन् । अहिले यहाँका हाइड्रोपावरले नदीमा नियमअनुसार पानी नछोड्दा जलचरलाई असर परेकोदेखि स्थानीय सरोकारवालालाई पर्याप्त लाभ दिन नसकेको गुनासो छ ।
गुनासो बढ्दै गएपछि जिल्ला समन्वय समिति कास्कीले जलविद्युत् क्षेत्रका समस्या र सरोकारका विषयमा अन्तरक्रिया गरेको छ । सोही क्रममा जिसस प्रमुख लिलाधर पौडेलले हाइड्रोपावरहरू नेपालको जलविद्युत् विकास र जलस्रोतको उच्चतम उपयोगमा महत्त्वपूर्ण भएको बताए । तर, वातावरण संरक्षणमुखी उपयोग नीति अवलम्बन नगरेको गुनासो बढेको भन्दै त्यसलाई सुधार्न निर्देशन दिए ।
जुनसुकै विकास आयोजना पनि वातावरण र जनमुखी हुनुपर्ने उनको भनाइ छ । ‘आयोजनाहरूको दीर्घकालीन स्थायित्व र पूर्ण प्रतिफलका लागि सरोकारवालाहरू विद्यमान नियम, कानुन र संवैधानिक व्यवस्थाप्रति पूर्ण उत्तरदायी र जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘जलविद्युत् आयोजनाले प्राकृतिक स्रोतसाधन र जनजीवनमा पार्ने प्रतिकूल अवस्थाबारे सम्झौताबमोजिम सञ्चालन नभएको गुनासो छ, सुधार गर्नुस् ।’
उनले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको, सोको पूर्ण पालनामा अग्रसर नभएको, स्वीकृतिबिना रूख कटान हुने गरेको र वातावरण संरक्षण योजनाको कार्यान्वयनमा चुनौती देखिएको बताए ।
‘अहिले देखिएका लापरबाहीबारे जनगुनासो आएको छ,’ उनले थपे, ‘त्यस खालका गुनासा तत्काल न्यूनीकरणसहित निराकरण गर्न अनुरोध गर्दछु ।’ विधिपूर्वक नचले कारबाही अगाडि बढाउने उनको चेतावनी छ ।
गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका इन्जिनियर जीवन श्रेष्ठले जलविद्युत्सम्बन्धी संवैधानिक व्यवस्था, आयोजना वर्गीकरणका आधार र मापदण्ड तथा जल विकास गुरुयोजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा सम्बन्धित पालिका अध्यक्षहरूले पनि जलविद्युत् विकासको प्रमुख पाटो भए पनि वातावरण र जनजीविकाका सवालमा जिम्मेवार हुन नसकेको भन्दै प्रश्न गरेका थिए ।




