Friday, November 27

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण

नेपालअखबार,काठमाडौँ । किरात समुदायको धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्र मानिने साल्पा–सिलिचुङमा मुन्दुमी मान्यता झल्काउने संरचना निर्माण गरिएको छ। खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा पर्ने यस क्षेत्रमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम र चिण्डोसहितका प्रवेशद्वार निर्माण गरिएका छन्।

Advertisement

देश तथा विदेशमा रहेका किराती र गैरकिरातीबाट संकलन गरिएको रकमबाट यी संरचना निर्माण गरिएको हो। साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बु राई ‘मूलघरे कान्छा’का अनुसार अभियानका लागि करिब दुई करोड ८४ लाख रुपैयाँ संकलन भएको थियो। त्यसमध्ये दुई करोड ६२ लाख रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च भएको छ।

Advertisement
Advertisement

‘साल्पा–सिलिचुङ विश्वभर छरिएर रहेका किरातीको मुन्दुम तथा रिसियामा आउँछ। यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखेका छौँ,’ उनले भने, ‘किराती मुन्दुमअनुसार साल्पा–सिलिचुङ नै किरातीको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र हो भन्ने जनविश्वास छ। मुन्दुमी मिथकलाई भौतिक रूपमा देखाउन यहाँ संरचना निर्माण गरिएको हो।’

Advertisement

उनका अनुसार यी संरचनाले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन र अनुसन्धान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साल्पा–सिलिचुङको संरक्षण र विकासका लागि २०७९ सालमा अन्तर्राष्ट्रिय समिति गठन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम थालिएको थियो। तीन चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो वर्ष २०८१ वैशाख ७ गते सुम्निमा, पारुहाङ र नाक्छुङको प्रतिमा स्थापना गरिएको थियो।

दोस्रो वर्ष २०८२ वैशाख १ गते सुम्निमा र पारुहाङको प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम निर्माण गरिएको थियो। यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबुक अर्थात् चिण्डो, पोखरीभित्र पारुहाङ ध्यानमा बसेको प्रतिमा र नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको हो।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ नारासहित सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान र इजरायलमा रहेका नेपाली पनि जोडिएका छन्। अभियानका लागि साउदी अरबमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको थियो।

समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा रहेको साल्पा–सिलिचुङ क्षेत्रको विकास र प्रवर्द्धनका लागि अध्ययन तथा अनुसन्धान समिति पनि गठन गरिएको थियो। करिब चार वर्षदेखि सञ्चालन भइरहेको अभियानको आर्थिक तथा भौतिक प्रगति मंसिर १८ गते काठमाडौंमा कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी रहेको अध्यक्ष राईले जानकारी दिए।

साल्पा–सिलिचुङ धार्मिक आस्थाका साथै प्राकृतिक सुन्दरताका कारण पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण र मेरा पिकलगायत हिमाल देख्न सकिन्छ। यसका साथै तराईका फाँट, नदी, वनजङ्गल र किराती बस्ती पनि अवलोकन गर्न सकिन्छ।

साल्पापोखरीबाट उत्तरपूर्वमा रहेको सिलिचुङ समुद्री सतहबाट चार हजार १५५ मिटर उचाइमा छ। यस क्षेत्रका टेम्के, मैयुङ, लौरे र चिलिमढुङ्गालगायत डाँडामध्ये सिलिचुङ सबैभन्दा अग्लो छ। टेम्के तीन हजार १६५ मिटर र मैयुङ तीन हजार ३३३ मिटर उचाइमा छन्।

सिलिचुङको फेदमा रहेको साल्पापोखरी किरात समुदायको आस्थाको केन्द्र मानिन्छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटक मनोकामना पूरा हुने विश्वासका साथ पूजाआजा गर्न पुग्छन्। हरेक वर्ष वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा यहाँ मेला लाग्छ।

कुनै मुहान र निकास नभएको पोखरीमा पानी जमेर बनेको साल्पापोखरी समुद्री सतहबाट तीन हजार ६७२ मिटर उचाइमा छ। यहाँ लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बुलगायत जिल्लाबाट भक्तजन पुग्छन्।

साल्पापोखरीमा पूजाआजा गरे बोली नफुटेकाहरू बोल्न सक्ने, सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्ने र धामीझाँक्रीले मुन्दुमी शक्ति पाउने जनविश्वास छ। पहिलोपटक सगरमाथा आरोहण गर्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पनि साल्पापोखरी हुँदै जाने बाटो प्रयोग गरेको बताइन्छ।

नेपाल सरकारले घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यमा समेटेको मुन्दुम पदमार्ग पनि साल्पा–सिलिचुङसम्म विस्तार भएको छ। यो पदमार्गले छोएका स्थानलाई जोड्दै खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुका स्थानीय तहले आआफ्नो क्षेत्रमा थप पदमार्ग निर्माण गरिरहेका छन्।

प्रचारप्रसारको अभावमा लामो समय ओझेलमा परेको यस क्षेत्रमा पछिल्लो समय होटल र होमस्टे पनि विस्तार हुन थालेका छन्। यसले गर्दा मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन्।

होटल तथा होमस्टे विस्तार हुनुअघि यहाँ पुग्ने पर्यटक चौँरीगोठ र भेँडीचोकमा बास बस्ने गर्थे। अहिले पनि पदमार्ग आसपासका ठूला घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक र घोडचढीका दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।