
नेपालअखबार,पोखरा। पोखरामा खेल पर्यटन प्रवद्र्धन, रात्रिकालीन व्यवसायको विस्तार तथा सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले आगामी पुस १० गते दोस्रो संस्करणको ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ ।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगितामा यस वर्ष पुरस्कार राशि वृद्धि गर्नुका साथै भेट्रान्स विधा थप गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खुला, महिला, विदेशी, यू–१६ र भेट्रान्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । गत वर्ष चार विधामा सञ्चालन गरिएको प्रतियोगितामा यस वर्ष भेट्रान्स विधा थप गरिएको हो ।
प्रतियोगिताबारे जानकारी दिन आइतबार फेवातालको बीच भागमा डुङ्गामाथि आयोजित पत्रकार सम्मेलनमा संयोजक दीननाथ बरालले प्रतियोगितालाई पोखराको नयाँ पहिचानसहितको पर्यटकीय गतिविधिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । पोखरा महानगरपालिका–९ सँगको सहकार्यमा गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पुरस्कार राशि वृद्धि र विधा थप गरी निरन्तरता दिन लागिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु २५ हजार, रु १५ हजार र रु सात हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला, विदेशी, यू–१६ र भेट्रान्स विधाका विजेताले क्रमशः रु १५ हजार, रु सात हजार र रु तीन हजार नगद पुरस्कार पाउनेछन् । सबै विधाका विजेतालाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नगद पुरस्कारका लागि मात्रै रु एक लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न कुल रु १७ लाख ९० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । पोखरा महानगरपालिका–९ को वार्षिक बजेटसहितको सहकार्य र महानगरपालिकाको प्रवद्र्धनात्मक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितालाई पोखरा महानगरपालिका, वडा नं ६, फेवा डुङ्गा व्यवसायी सङ्गठन, मन्त्र थकाली, परिचय एड्भर्टाइजिङलगायत सङ्घसंस्थाले सहयोग गर्नेछन् ।
पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडामा नयाँपन दिने उद्देश्यले गत वर्षदेखि प्रतियोगितामा सहकार्य गर्दै आएको बताउनुभयो । पोखरालाई रात्रिकालीन व्यवसाय र उज्यालो वडाको अभियानसँग जोड्न प्रतियोगिताले योगदान पु¥याउने उहाँको भनाइ थियो । उहाँले प्रतियोगितालाई आगामी दिनमा ‘हेरिटेज रन’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पोखरा लेकसाइडमा मात्र सीमित नभएको सन्देश प्रवाह गर्न पनि यस्ता गतिविधि महत्वपूर्ण हुने बताउनुभयो ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले रात्रिकालीन सडक दौड पोखरामा थपिएको नयाँ खेल गतिविधि भएको उल्लेख गर्दै यसले खेल पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा इभेन्टहरूको सहरका रूपमा विकास हुँदै गएको बताउँदै रात्रिकालीन सडक दौडले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । दिउँसो आयोजना हुने दौडभन्दा फरक स्वरूपको यो प्रतियोगिता पोखराको नयाँ पहिचान बन्न सक्ने उहाँले बताउनुभयो ।
फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले फेवातालको बीच भागमा डुङ्गामाथि पत्रकार सम्मेलन आयोजना गर्नु सिर्जनात्मक कार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमका लागि आवश्यक सहयोग गर्न सङ्गठन तयार रहेको बताउनुभयो ।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले क्रिसमसको दिन प्रतियोगिता आयोजना हुने भएकाले सडक तथा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने बताउनुभयो । प्रतियोगिता सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्रतियोगितामार्फत पोखराको रात्रिकालीन व्यवसाय, सडक सुरक्षा तथा रातको समयमा पनि सुरक्षित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्न सकिने सम्भावना उजागर गर्न खोजिएको बताउनुभयो ।
प्रतियोगिता तालबाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्युरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कअगाडिको फल्चामा पुगेर सम्पन्न हुनेछ । पाँच किलोमिटर दूरीको दौडमा सहभागी धावकको सुरक्षाका लागि बिमा, रिफ्लेक्टिभ टिसर्ट तथा स्वास्थ्य सेवाको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
दौडका क्रममा धावकले आवश्यकताअनुसार हेडलाइट (हेडल्याम्प) प्रयोग गर्न सक्नेछन् । दौड सुरु भएदेखि नै धावकको अगाडि, बीचमा र पछाडि स्वास्थ्य टोलीसहितका एम्बुलेन्स परिचालन गरिनेछ । ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने आयोजकले जनाएको छ ।
पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक धावकका लागि डिसेम्बर १ देखि २० सम्म पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत आवेदन खुला गरिनेछ ।
‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताको पहिलो संस्करणमा नेपालसहित नर्वे, फ्रान्स, थाइल्यान्ड र बेलायतका गरी पाँच देशका १४५ धावक सहभागी भएका थिए । पहिलो संस्करणमा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामार्फत पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित नराखी सहरका अन्य पर्यटकीय क्षेत्र तथा सम्पदाको पहिचान गराउने आयोजकको अपेक्षा छ । खेल पर्यटनसँगै शान्ति सुरक्षा, सहरी गतिशीलता, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्दै पोखरालाई रात्रिकालीन गतिविधिका लागि समेत आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।




