Monday, April 20

काठमाडौं महाबौद्धका व्यवसायीमा कोरोना देखिएपछि वडाले जारी गर्‍यो सूचना

नेपाल अखबार, काठमाडाैं। काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।
भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको हो।
वडा अध्यक्ष चिनियामान बज्राचार्यद्वारा जारी सूचनामा भनिएको छ, ‘भारत घर भइ सिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग सम्पर्क हुने महानुभावले यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध।’
वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्य १८ हजार ६ सय १३ पुगेको छ।
सरकारले साउन ७ गतेबाट लक डाउन खोलेको छ। अहिले सार्वजनिक सवारी समेत सञ्चालनमा आएका छन्।
संक्रमणको जोखिमबीच लकडाउन खुला गरिएपछि उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ।
अहिलेसम्म देशभरी ३ लाख ४२ हजार ४ सय ५७ जना पीसीआर परीक्षण भएको छ।
१३ हजार १ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *