राजनीतिसमाचार

ओली–प्रचण्ड छलफल : संवादहिनता तोडियो, सहमति प्रयास जारी

नेपालअखबार, काठमाडाैं। नेकपाका दुई अध्यक्षबीचको बैठकमा कुनै सहमति नभएपछि फेरि भोलि पनि छलफल हुने भएको छ।
वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई सँगै राखेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।
विहान १० बजेदेखि साढे ३ घण्टा भएको छलफलमा कुनै सहमति नजुटेको प्रचण्डले आफू निकटका नेताहरुलाई व्रिफिङ गरेका छन्।
‘कुनै सहमति भएको छैन, छलफल सकारात्मक रुपमा भएको छ। फेरि भोलि पनि छलफल गर्नेछौं,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीजीले आफ्नो अडान कायम राख्नुभएको छ, हामीले पनि सहमतिको लागि उहाँले एउटा पदबाट राजीनामा गर्नैपर्ने धारणा प्रष्ट पारेका छौं।’
रोकिएको स्थायी कमिटी बैठक सुचारु गर्नेबारे पनि दुई नेताबीच कुनै सहमति हुन सकेको छैन।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग प्रमुखरुपमा उठेपछि ओलीले सो बैठक सार्दै आएका छन् भने प्रचण्ड र माधव नेपाल पक्षले बैठकमा जोड दिँदै आएको छ।
असार १८ गतेदेखि औपचारिक बैठक नै बस्न सकेको छैन। साउन १३ गतेका लागि तय भएको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि प्रचण्डले बहुमत स्थायी कमिटी सदस्य लिएर बैठक बालुवाटारमै राखेका थिए।
तर, सो बैठकमा ओली र उनीनिकट नेताहरु सहभागी नभएपछि पार्टीको विवाद झन् बल्झिएको हो।
त्यसयता ओली र प्रचण्डबीच औपचारिक रुपमा प्रत्यक्ष संवाद भएको थिएन।
‘केहीदिनदेखि औपचारिक संवाद भएको थिएन, अब छलफल हुन थालेको छ, निरन्तरको छलफलबाट सहमतिमा पुग्ने प्रयास हुनेछ,’ ओली निकट एक नेताले भने।
साउन ६ गते बसेको बैठक देशभर गएको बाढीपहिरोको विषयमा राहत र उद्धारमा जुट्ने भन्दै एक हप्ताका लागि स्थगित गरिएको थियो।
पार्टीमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल एउटा पक्षमा उभिए पछि ओली अल्पमतमा परेका छन्। साेत नेपालखबर

the authoradmin

Leave a Reply