प्रशासनसमाचार

अनैतिक सम्बन्धको नतिजाः फेक फेसबुक आइडीबाट गोप्य तस्वीर सार्वजनिक गरिदिएपछि हत्या

नेपाल अखबार, काठमाडौं । स्थानीय गोंगबुस्थित १ होटलमा बस्दै आएका १ जनाको हत्या गरी टाउको बिनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका – की ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
टोखा–१० गोंगबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टाउको बिनाको शव र सुटकेस भेटिएको स्थानभन्दा केही पर टाउको र खुट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा हत्यामा संलग्न मुडभरीलाई कालिका – ९ शक्तिखोरस्थित माइतीघरबाट सोमबार पक्राउ गरेको थियो ।

घटनास्थलबाट धारिलो हतियार, हथौडा, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल थान प्रहरीले बरामद गरेको छ । बोहरा ८ महिनादेखि होटलमा बस्दै आएको, बोहरा र अभियुक्तबीच करीब ४ वर्षदेखि फेसबुकमार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको प्रहरीले बताएको छ ।

बोहराले आफ्नो तस्बिर राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफूअनुकूल चलाउनका लागि दवाव दिने गरेकाले हत्या गर्नुपरेको अभियुक्तले प्रहरी समक्ष बयान दिएकी छिन् । घटनाको दिन बोहरा होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा गएका थिए । कोठामा पुगेपछि कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएको बताएकी छिन् ।
दहीमा निद्राको पाँच औषधी समेत मिसाइदिएको उनको बयान छ । कल्पनाले खानेकुरा खाएपछि बोहरालाई लठ्ठिएर सुतेका बेला हथौडाले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेको र मृत्यु भएको यकिन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई सुटकेस र झोलामा राखेर फालेको प्रहरीले बताएको छ । शवका टुक्रा फालेर अभियुक्त चितवन जाने एम्बुलेन्समा आइतबारै बेलुका माइतीघर चितवन गएको प्रहरीले जनाएको छ । रासस

the authoradmin

Leave a Reply