नेपाल अखबार, पोखरा । दुर्घटनामा परेर ज्यान गुमाएका प्रहरी हवल्दार डम्बर बहादुर थारु र चन्द्रबहादुर बगालेको पार्थिव शरीरलाई प्रहरीले आज बिहीबार शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरेको छ । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरीद्वय थारु र बगालेको हिजो बुधबार दुर्घटनामा परेर ज्यान गएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा मृक्तक प्रहरीको सम्मान स्वरुप एक टुकडीले शोक सलामी अर्पण गरेका थिए ।
बुधबार दिउँसो डिउटीमा खटिएको समयमा मृक्तक प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ग २ च २६२६ नम्बरको बोलेरो जिपले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी हवल्दार थारु तथा बगालेको उपचारका क्रममा ज्यान गएको हो ।

