Tuesday, April 21

आजको मौसम एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना

नेपाल अखबार, पाेखरा। आज दिउँसो तथा राति देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
राति भने केही प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले सिरहाको लहानमा हल्का वर्षा भइरहेको छ। यो अझै केही घण्टा जारी रहने अनुमान छ।
यसबाहेक काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि (धेरै घाम थोरै बादल) सामान्य (थोरै घाम धेरै बादल) सम्म बदली छ।
तर दिउँसो देशभरका केही स्थानमा बदली भई मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए। ‘लहानमा त अहिले नै हल्का वर्षा भइरहेको छ,’ मौसमविद् प्रधानांगले शनिबार बिहान भने, ‘अन्य सम्भावित स्थानमा मध्याह्न १२ बजेपछि वर्षा हुने अुनमान गरिएको छ, काठमाडौं उपत्यकामा पनि यस्तै सम्भावना छ।’
दिउँसो भने कतै भारी वर्षा हुने अनुमान गरिएको छैन।
राति भने देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ–
‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *