Saturday, April 18

टर्कीका राष्ट्रपति ग्रीसको जहाज डुबाउन चाहन्थेः जर्मन पत्रिकाको दाबी

नेपालअखबार, एजेन्सि।  पूर्वी भूमध्य सागरमा टर्की र ग्रीसबीच जारी तनावबीच जर्मनीको पत्रिका ‘डी वेल्ट’ ले एक चकित पारिदिने दाबी गरेको छ । पत्रिकाले टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पूर्वी भूमध्य सागरमा ग्रीससँग सैन्य झडप चाहेको भन्दै रिपोर्ट प्रकाशित गरेको छ ।
‘अर्दोआनको सुनियोजित युद्ध’ शीर्षक भएको यो रिपोर्टमा भनिएको छ, ‘यदि टर्कीका राष्ट्रपतिको वशमा भएको भए उनको नौसेनाले निकै समय अघि भूमध्य सागरमा ग्रीसको एउटा जहाज डुबाई सकेको हुन्थ्यो ।’
आजकाल पूर्वी भूमध्य सागरमा ग्रीस र टर्कीबीच तनावको स्थिती छ । विवादित समुद्री इलाकामा टर्कीले ग्यासको नयाँ भण्डार भेटिएको दाबी गरेपछि स्थिती गम्भीर भएको हो ।
जुन इलाकामा टर्कीले ग्यासको खोजी गरेको छ, ग्रीस पनि त्यो इलाकामा आफ्नो दाबी गर्दछ । दुबै देशबीच प्राकृतिक स्रोत साधनको विषयमा सुरु भएको सामान्य होडबाजीको सिलसिला अब सैन्य कारवाहीको धम्कीसम्म पुगिसकेको छ ।
टर्की र ग्रीसबीच पैदा भएको तनावलाई कम गर्नका लागि जर्मनी मध्यस्थता गरिरहेको छ ।
के लेखेको छ पत्रिकाले ?
‘डी वेल्ट’ ले टर्की सेनाको स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘अर्दोआनले टर्कीको जनरलसँग केही दिन अघि ग्रीसको एक जहाजलाई डुबाइदिन तर यो प्रक्रियामा कसैको पनि मृत्यु नहोस् भनी निश्चित गर्न अह्राएका थिए ।’
मंगलबार छापिएको पत्रिकाको रिपोर्टमा लेखिएको छ, ‘जब जनरलले यसलाई अस्विकार गरे तब कसैले ग्रीसको लडाकू विमानलाई खसाल्न सुझाव दिए र पाइलटले आफूलाई बचाउन सक्ने पनि भनिदिए । तर एकपटक पुनः टर्कीका जनरल यसमा सहमत भएका थिएनन् ।’
यो रिपोर्ट अनुसार टर्की कसैले ज्यान नगुमाइकन स्थिती तनावपूर्ण होस् भन्ने चाहन्थ्यो ।
‘डी वेल्ट’ का अनुसार यो योजनालाई जनरलले खारेज गरिदिए नभए पूर्वी भूमध्य सागरमा आज युद्ध सुरु भइसक्थ्यो ।
जर्मन पत्रिकाको यो रिपोर्ट त्यतिबेला आएको हो जब फ्रान्स पनि ग्रीसको पक्षमा उत्रिएको छ र यूएईले आफ्नो लडाकू जहाजलाई ग्रीसको समर्थनमा तैनाथ गरेको छ ।
ग्रीस, फ्रान्स र टर्की तीनै नेटोका सदस्य हुन् तरपनि यो मामिलामा एक–अर्काविरुद्ध लामबद्ध भइसकेका छन् ।

धम्कीको सिलसिलाः
केहि दिन अघि टर्की र ग्रीसबीच लडाकू जहाजको विषयमा पनि विवाद भएको थियो । टर्कीले आफ्नो ड्रिलिङको काम भइरहेको क्रिट द्वीपमा ग्रीसको छवटा एफ–१६ जंगी जहाज प्रवेश गर्ने कोसिस गरेको आरोप लगाएको थियो  । टर्कीले आफ्नो एफ–१६ जंगी जहाजले ग्रीसको लडाकू विमानलाई रोकेको दाबी गरेको थियो ।
टर्कीले यो सम्बन्धमा भिडियो पनि जारी गरेको थियो । तर ग्रीसको मिडियाले टर्कीमाथि आरोप लगाउँदै क्रिटको बेसमा फर्किरहेको उसको एफ–१६ विमानको बाटो टर्कीको फाइटर जेट्सले रोकेको बताएको थियो ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पूर्वी भूमध्य सागरमा टर्कीको जहाज अघि बढ््ेकोमा कडा प्रतिक्रिया दिएका थिए र टर्की आफ्नो विरुद्ध कारवाही चाहन्छ भने ऊ कुराकानीको बाटो बुझन चाहँदैन भन्ने अभिव्यक्ति दिएका थिए ।
ग्रीस र फ्रान्सले यो तनावबीच यो इलाकामा संयुक्त युद्धाभ्यास पनि गरेको थियो । यसका लागि टर्कीले आधिकारिक चेतावनी जारी गर्दै जहाजलाइ यो क्षेत्रबाट टाढा रहन बताएको थियो ।
स्रोतः बीबीसी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *