नेपाल अखबार, बागलुङ।बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ भुसुण्डेको वाढीपहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा १४ जना मध्य २ जनाको मात्र सनाखत भएको छ । १२ जनाको नाम खुल्न सकेको छैन । पहिरोमा परी मृत्यु हुने ढोरपाटन नगरपालिका ९ भट्टेचौर निवासी २६ वर्षीया केशमाया बिक र ढोरपाटन नगरपालिका–९ लाकुरीबोट निवासी ४५ वर्षीय करबहादुर बिकको मात्र सनाखत भएको छ ।पहिरोमा परी ३९ जना बेपत्ता छन् ।
बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परी ४ जना सामान्य घाइते भएका छन् । पहिरोले एउटा गाडी, २ वटा मोटरसाईकल बगाएको, साथै ढोरपाटन नगरपालिका–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन, लाकुरीबोट स्वास्थ्य चौकीको भवन लगायत स्थानीय ३१ वटा घर पूर्णरूपमा बगाएर क्षति बनाइदिएको छ ।
पहिरोले जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन, सरस्वती प्राथमिक विद्यालयको २ कोठे भवन, भुजिखोला जलविद्युत आयोजनाका ४ वटा भवन समेत क्षति भएको छ ।उक्त स्थानमा उद्दार तथा खोजी कार्यका लागि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रमुख, लगायत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि साथै ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको टोली खटिई गएको छ । घटनाका विषयमा थप अनुसन्धान तथा उद्दार कार्य पनि भईरहेको छ ।

