Wednesday, April 22

शिशुवा अस्पताललाई ५० शय्यामा स्तरोन्नती गरिने

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको लेखनाथस्थित शिशुवा अस्पतालको स्तरोन्नती गरिने भएको छ ।
हाल १५ शय्या रहेको सो अस्पतालको स्तरोन्नती गरी ५० शय्यामा विस्तार गरिने महानगरले जनाएको छ ।
पहिलोपटक अस्पतालमा शल्यक्रिया मार्फत प्रसुती सेवा शुरु भएपछि सोमबार अस्पताल निरीक्षण तथा शल्यक्रिया मार्फत सुत्केरी हुनु भएकी रीता श्रेष्ठलाई पोषण सामाग्री हस्तान्तरण गर्दै महानगर प्रमुख मानबहादुर जिसीले अस्पतालको स्तरोन्नती गरिने योजना रहेको बताए । साविक लेखनाथ नगरपालिकाको जमीनमा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै अस्पतालको स्तरोन्नती गरिने उनले स्पष्ट पारे ।
गत शनिबार अस्पतालमा बाराको कोहल्बी नगरपालिका—८ नयाँबस्तीका १८ वर्षीया श्रेष्ठको शल्यक्रिया गरी प्रसुती गराइएको थियो । अस्पतालले न्यून जनशक्तिकाबीच शल्यक्रिया मार्फत प्रसुती सेवा शुरु गरेकाले थप जनशक्तिका लागि महानगरले सहयोग गर्नुपर्ने अस्पतालले जनाएको छ । मातृ तथा शिशुसँग जोडिएका चिकित्सक, जाँच र ल्याबको सुविधा थप गर्न माग गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतिभा कोइरालाले सवैको सहयोगबाट अस्पतालमा पहिलो पटक शल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराउन सकिएको बताउँदै न्यून श्रोत र साधन चूनौतीका रुपमा रहेको बताए ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अस्पतालमा प्रसुती सेवा शुरु भएपछि लेखनाथ र आसपासका बासिन्दा पोखरासम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए । आपतकालिन अवस्थामा ४५ मिनेट लगाएर पोखरा आउँदा आमा र बच्चाको स्वास्थ्य जोखिम हुने गरेको उल्लेख गर्दै उनले सुुरक्षित प्रसुती सेवा शिशुवामै पाइन्छ भन्ने विश्वास नागरिकलाई दिनुपर्ने खाँचो औँल्याए ।
महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले विशेषज्ञ चिकित्सक सेवा सहित विभिन्न परीक्षण, ल्याब लगायतका सेवा र सुविधा विस्तार गर्नुपर्नेमा जोड दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझाले अस्पतालको सेवाबाट लेखनाथका मात्रै नभई मादी र रुपा गाउँपालिका सहित कास्कीको पूर्वीभेगसँग सीमा जोडिएका लमजुङका बासिन्दा समेत लाभान्वित हुने गरेको जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *