
नेपालअखबार,काठमाडौं । कोरोना महामारी र सुस्त अर्थतन्त्रका कारण थलिएका उद्योगहरूको अवस्था अझै पनि सुध्रिन सकेको छैन । उद्योगहरूले क्षमता उपयोगमा सुधार गर्न नसकेको नेपाल राष्ट्र बैंकको अध्ययनले औँल्याएको हो ।
गत आर्थिक वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा झरेको छ । अघिल्लो आव उद्योगहरू ५१.४३ प्रतिशत क्षमतामा चलेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
गत आव भटमास तेल उद्योग सबैभन्दा बढी ९२.४१ प्रतिशत क्षमतामा चल्दा वनस्पति घिउ उद्योगको क्षमता उपयोग २.३६ प्रतिशतमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल १.५६ प्रतिशत घट्दा समग्र कृषि बालीको उत्पादन पनि ०.८४ प्रतिशत घटेको छ । तरकारी (१.६७ प्रतिशत) र दूध (३.६४ प्रतिशत) उत्पादनमा सामान्य वृद्धि भए पनि धान उत्पादन ३.७६ प्रतिशत र अन्डा उत्पादन ५.७७ प्रतिशत घटेको छ ।
केन्द्रीय बैंक अध्ययन अनुसार गत आव अत्यधिक वर्षा र बाढीपहिरोका कारण समग्र आर्थिक गतिविधि सुस्ताएको हो । गत आव आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आव २०८१/८२ मा यस्तो वृद्धिदर ४.४३ प्रतिशत थियो ।
भदौ र असोजमा भएको अत्यधिक वर्षा र बाढीपहिरोका कारण कृषि उत्पादन, जलविद्युत्, भौतिक पूर्वाधार र पर्यटन क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्रमा सुस्तता देखिएको प्रतिवेदनमा उल्लेख छ ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत रहँदा कृषिको २४.५ र उद्योग क्षेत्रको योगदान १३.७ प्रतिशत छ ।
प्रदेशगत हेर्दा जीडीपीमा बागमतीको हिस्सा सबैभन्दा धेरै ३६.७१ प्रतिशत छ भने कर्णालीको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशतमा खुम्चिएको प्रतिवेदनमा उल्लेख छ । कृषि उत्पादनमा भने कोशी २१.३६ प्रतिशतसाथ अगाडि देखिएको छ ।
गत आव बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.७२ प्रतिशत बढेर ८२ खर्ब २३ अर्ब नाघेको छ । तर, कर्जा प्रवाह भने जम्मा ६.५४ प्रतिशत मात्रै बढेर ५९ खर्ब ५१ अर्ब पुगेको छ । कुल निक्षेपको ६४.०५ प्रतिशत र कर्जाको ६०.९१ प्रतिशत हिस्सा बागमती प्रदेशमै केन्द्रित छ ।
गत आव घरजग्गा कारोबारमा भने मन्दी कायमै देखिएको छ । घरजग्गा रजिस्ट्रेसन संख्या १.२५ प्रतिशत र यसबाट उठ्ने राजस्व २.०४ प्रतिशत घटेर ३६ अर्ब ५० करोडमा सीमित भएको छ ।
त्यस्तै वाह्य क्षेत्रतर्फ वस्तु निर्यात १३.८१ प्रतिशत बढेर ३ खर्ब १५ अर्ब २९ करोड पुगे पनि आयात १६.२० प्रतिशत बढ्दा व्यापार घाटा १६.६३ प्रतिशत बढेर १७ खर्ब ८१ अर्ब ८ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आव पुन: श्रम स्वीकृति सहित ७ लाख ९२ हजार १ सय ८७ युवा वैदेशिक रोजगारीमा गएका छन्, जसमा मधेसको हिस्सा सबैभन्दा बढी (२२.६० प्रतिशत) छ । मुलुकको सार्वजनिक ऋण पनि बढेर २९ खर्ब ८१ अर्ब ७० करोड (जीडीपीको ४५.१८ प्रतिशत) पुगेको छ ।
चालु आव २०८३/८४ को सुरुवातमै रसुवा–भोटेकोशी बाढीले उत्तरी नाका, जलविद्युत् र सडक पूर्वाधारमा क्षति पुर्याए पनि समग्र अर्थतन्त्रमा सुधार आउने राष्ट्र बैंक प्रक्षेपण छ ।
रेमिट्यान्समा भइरहेको वृद्धि, घट्दो ब्याजदर, अनुकूल मनसुन र क्षतिग्रस्त संरचना पुनर्निर्माणले चालु वर्ष कृषि, उद्योग र सेवा क्षेत्रको गतिविधि चलायमान हुने प्रतिवेदनमा छ ।




