Wednesday, April 22

गृहमन्त्री बादल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

नेपाल अखबार, काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
नेपालमा आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेको राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा उनलाई धन्यवाद दिए ।
भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाइ सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताए ।  उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे ।
राजदूत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *