नेपाल अखबार, एजेन्सि। भारतको विपक्षी दल काँग्रेस आईका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएर हाथरस जानबाट रोकेको छ।
सो क्रममा राहुल गान्धीका समर्थक र प्रहरीबीच घम्साघम्सी भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
उत्तर प्रदेशमा सामूहिक बलात्कारपछि मृत्यु भएकी युवतीको परिवारलाई भेट्न जाने क्रममा राहुल र उनका बहिनी प्रियंकालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको थियोl
गाडीबाट जाँदै गर्दा प्रहरीले रोकेपछि उनीहरु पैदल हिँडेर पीडित परिवार भेट्न जाँदै थिए। सो क्रममा प्रहरीले उनीहरलाई नियन्त्रणमा लिएको जनाइएको छ।
सार्वजनिक भिडियोमा प्रहरीले राहुल गान्धीलाई धकेलिएको देखिएको छ। राहुल गान्धीले आफूलाई प्रहरीे धकेल्दै लाठीले हानेको बताएका छन्।
हालैमात्र उत्तर प्रदेशको हाथरसमा एक १९ वर्षकी दलित युवतीमाथि सामूहिक बलात्कार भएको थियो। उनको दिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो।
पीडित परिवारका अनुसार प्रहरीले आधारातमा युवतीको शवलाई जलाउन बाध्य पारेको थियो। सो क्रममा परिवारले संस्कारअनुसार आफ्नो छोरीको विदाई गर्न पाएनन्।
राहुल गान्धी न्यायका लागि भन्दै पीडित परिवार भेट्न गइरहेका थिए। एजेन्सी

