Thursday, April 23

सिन्धुपाल्चोकमा एक किलो नक्कली सुनसहित दुई पक्राउ

नेपालअखबार,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक किलो नक्कली सुनसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले एक किलो सुन जस्तो देखिने धातुसहित बाह्रबिसे नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश तामाङ र २६ वर्षीय अर्जुनबहादुर तामाङलाई पक्राउ गरेको छ।
सुनकोशी गाँउपालिका-७ डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा अवैध कारोबार हुँदैछ भन्ने खबर प्रहरीले पाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
सोही खबरको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोली आइतबार दिउँसो पक्राउ गरेको हो।
पहिले प्रहरीले उमेश तामाङलाई पक्राउ गरेको थियो। उनीबाट एक किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु फेला पारेको थियो। सुन पसलमा जाँच गराउँदा उक्त धातु पित्तल भएको खुलेको हो।
‘उनीहरू ठग नै हुन्। त्यो धातु जाँच गराउँदा बाहिर जलप लगाएको पायौं,’डिएसपी सापकोटाले भने,’त्यो सुन नभई पित्तल देखिएको छ।’
फरार भएका अर्जुनलाई प्रहरीले लिसंखुपाखर गाँउपालिका-६ लामिडाँडाबाट पक्राउ गरेको थियो।
उनको प्रदेश ३-०२-००१ प ७४२४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
डिएसपी सापकोटाका अनुसार उनीहरूबाट थप नक्कली सुन फेला परेको बताए। यसबारेमा भने थप विवरण पछिमात्रै दिइने उनले बताए।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *