Friday, August 21

डडेलधुरामा मेडिकल कलेज स्थापना गर्न गुरुयोजना निर्माण हुँदैछ : प्रधानमन्त्री देउवा

नेपाल अखबार, महेन्द्रनगर  । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुआत गर्ने र डडेलधुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माण गर्ने कार्य अगाडि बढाएको बताएका छन् ।

Advertisement

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा शुक्रबार आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताए । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिकमात्र नभएर व्यवहारिक, जीवनपयोगी तथा समाजको विकास र रुपान्तरणमा सहयोगी हुनुपर्नेमा उनको जोड थियो ।

Advertisement
Advertisement

‘लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ,’ प्रधानमन्त्री देउवाले भने, ‘आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले समयानुसार शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्छ ।’

Advertisement

सुदूरपश्चिम विश्वविद्यालयले यहाँका नागरिकको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वर्पूण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी मुलुकको खाँचो पूरा गर्न सहयोग पुर्‍याएको धारणा राखे । सो अवसरमा प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीलाई पदक वितरणसमेत गरे ।

समारोहमा भारतको कुमाउँ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले आफ्नो धारणा राखेका थिए । रासस