Saturday, August 29

१७ प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक १७ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

Advertisement

बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ।  यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ ।

Advertisement
Advertisement

विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग्ने प्रस्ताव पारित गर्दै भारतीय बाँधको समस्या समाधान गर्न पनि सरकारसमक्ष माग गरिएको छ । भ्रष्टाचारमाथि कारबाही,सुकुम्बासी समस्या समाधान, हैजाको रोकथामलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

Advertisement

केन्द्रीय परिषद् बैठकले अध्यक्षको प्रतिवेदन संशोधनसहित पारित गरेको पनि खतिवडाले जानकारी दिए । लगभग १६०० जना परिषद् सदस्य सहभागी बैठकमा आम निर्वाचन र प्रदेशको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा उभ्याउने भनेर साझा निर्णय भएको पनि उनले बताए ।

बैठकले  गठबन्धनमात्रै नभइ पार्टीको शक्ति र क्षमताले भ्याएसम्म घरघरमा पार्टीको चुनाव चिह्न लिएर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरेको छ । पार्टी सम्पूर्ण रुपमा चुनावमा होमिएको पनि खतिवडाले बताए । बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल भएको थियो ।  छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिइने समाजवादीको भनाइ छ।